Breaking News

एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको खेलमा आज नेपालले आज श्रीलंकासँग खेल्दै

१८ असार, काठमाडौं । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको खेलमा आज नेपालले आज श्रीलंकासँग खेल्दै छ ।

खेल उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो ।

यस्तै लाओस विरुद्धको खेलबाटै मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका छन् । पहिलो खेलकै लयलाई दोस्रो खेलमा कायम राख्ने लक्ष्यमा नेपाल छ ।

पहिलो खेलमा नेपालले नियमित गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राख्दै अन्जना राना मगरलाई खेलाएको थियो भने सरस्वती हमाललाई पहिलो रोजाइमै डेब्यू गराएको थियो ।

उज्बेकिस्तानको अन्तिम खेल महत्वपूर्ण भएकोले प्रशिक्षकले सुरुका खेलमा फरक रणनीति प्रयोग गरेको पनि हुन सक्छ । पहिलो खेल प्रीति राई, रेखा पौडेल, पुजा राना लगायत खेलाडी दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए । श्रीलंका विरुद्धको खेलमा पनि प्रशिक्षकले यस्तै खालको रणनीति बनाउन सक्छन् ।

महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ । श्रीलंकासँग खेलेको ८ वटै खेल नेपालले जितेको छ । फिफा वरियतामा नेपाल १००औं तथा श्रीलंका १५९औं स्थानमा छन् ।