८ असार, काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् ।
इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले दिएका छन् ।
ट्रम्पले भनेका छन्, ‘सबै विमान सुरक्षित तरिकाले आफ्नो घरतिर फर्किरहेका छन् । हाम्रा महान् अमेरिकी योद्धाहरुलाई बधाई । विश्वमा यस्तो गर्न सक्ने सेना अरु कसैसँग छैन ।’ उनले अब शान्तिको समय पनि आएको बताएका छन् ।
अमेरिकाले इरानका परमाणु केन्द्रमा बंकर बस्टर बम प्रयोग गरिएको जनाएको छ । यो बम जमिन मुनि करिब ६० मिटर भित्र छिरेर विष्फोट हुन्छ । यो बमले कहाँ कति क्षति भयो भन्ने खुलिसकेको छैन ।
इजरायल र इरानबीच युद्ध चलिरहेका बेला अमेरिका पनि इरानविरुद्धको आक्रमणमा उत्रिएको हो । इजरायलले इरानविरुद्ध १३ जुनदेखि आक्रमण सुरु गरेको थियो । अहिलेसम्म १० इरानी न्युक्लियर वैज्ञानिक, सेनाका तीन कमाण्डर र ४ जवानको हत्या गरिसकेको इजरायलले जनाएको छ ।
इरानको सबैभन्दा शक्तिशाली र सुरक्षित मानिन्छ फोर्दो न्युक्लियर प्लान्ट
इजरायलले इरानका फरमाणु केन्द्रहरुमा लक्षित गरी आक्रमण गरेको थियो । इजरायली आक्रमणबाट इरानका दुईवटा प्रमुख युरेनियम सम्वर्द्धन केन्द्रमध्येको एक नन्ताजमा आंशिक क्षति पुगे पनि फोर्दोमा कुनै उल्लेख्य क्षति भएको छैन ।
फोर्दो फ्यूल इनरिचमेन्ट प्लान्ट पहाड मुनि भूमिगत रुपमा बनाइएको छ । यो इरानको राजधानी तेहरानबाट करिब १ सय माइल तथा कोम सहरबाट २० माइल टाढा पर्दछ । यो केन्द्र जमिन मुनि करिब ८० मिटर गहिराइमा अवस्थित छ । यसलाई इरान र रुसका मिसाइल रक्षा प्रणालीहरूले संरक्षित गरिएको छ ।