Breaking News

दीपेन्द्रसिंह ऐरी नेपालका लागि सबैभन्दा धेरै टी-२०आई खेल खेल्ने खेलाडी

७ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी नेपालका लागि सबैभन्दा धेरै टी-२०आई खेल खेल्ने खेलाडी बनेका छन् ।

शुक्रबार भएको स्कटल्याण्डसँगको खेल उनको ८२औं थियो जुन् नेपाली क्रिकेट खेलाडीका लागि सर्वाधिक हो । त्यस खेलअघि करण केसी र दीपेन्द्रसिंह ऐरी समान ८१ खेल  खेलेका थिए ।

तर शुक्रबारको खेलमा करण ड्रप भएकाले दीपेन्द्र एकल रूपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका हुन् । उनीभन्दा पछाडि करणले ८१ खेल, सोमपाल कामीले ७८ खेल खेलेका छन् । अन्य खेलाडीको खेल संख्या ७० भन्दा तल छ ।

यद्यपी यो तथ्यांक परिवर्तन हुन पनि सक्नेछ । दीपेन्द्र चोटका कारण वा अन्य कारण टिममा नभएका बेला करण केसीले उनलाई उछिनेर सबैभन्दा धेरै टी-२०आई खेल्ने खेलाडी बन्न सक्छन् ।

दीपेन्द्रले ८२ खेलमा ३३.१४ को औसत र १४१ को स्ट्राइक रेटसहित १८२३ रन बनाएका छन् भने १ शतक र ९ अर्धशतक बनाएका छन् । उनले ५२ विकेट पनि लिएका छन् ।

उनको नाममा केही कीर्तिमान पनि बनेको छ । उनले कहिल्यै तोडिन नसक्ने ९ बलमा अर्धशतक बनाएका छन् जुन् बराबर मात्र हुन सक्छ । त्यस्तै टी-२०आईमा एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गर्नै कमै खेलाडीको सूचीमा दीपेन्द्र पनि छन् ।