Breaking News

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आत्मसमर्पण गर्न चेतावनी

एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आत्मसमर्पण गर्नुपर्ने बताएका छन्।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा पोस्ट लेखेर ट्रम्पले इरानलाई आत्मसमर्पण गर्न भनेका हुन्।

‘निःशर्त आत्मसमर्पण,’ इरान-इसराइलबीच छैटौं दिन पनि मिसाइल र ड्रोन हानहान जारी रहँदा ट्रम्पले लेखेका छन्।

ट्रम्पले अमेरिकाको धैर्यता कम हुँदै गएको पनि चेतावनी दिए।

उनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको ठेगाना थाहा भएको तर अहिलेलाई उनलाई मार्ने कुनै योजना नरहेको पनि उनले बताए।

‘उनी लुकेको ठाउँ थाहा छ तर कम्तिमा अहिले मार्दैनौं। तर हाम्रो धैर्यताको बाँध टुट्दै गइरहेको छ,’ ट्रम्पले लेखेका छन्। त्यसको तीन मिनेटमा उनले ‘विनाशर्त आत्मसमर्पण’ भनेर लेखेका छन्।

यसअघि इसराइलले इरानलाई हमला गरेको पहिलो दिन नै खामेनीलाई पनि मार्नेबारे इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले ट्रम्पलाई सोधेको खबरहरू सार्वजनिक भएका थिए।

त्यतिबेला ट्रम्पले अस्वीकार गरेपछि नै खामेनीलाई मार्ने योजनाबाट इसराइल पछि हटेका थिए भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन्।

खामेनी नमारिएपनि उनका मुख्य-मुख्य अधिकारी मारिएका थिए।

इरानी सशस्त्र बलका प्रमुख, उपप्रमुख, आइआरजिसी कोरका प्रमुख, राजनीतिक सल्लाहकार, वरिष्ठ आणविक बैज्ञानिकहरू मारिएका थिए।

खामेनीलाई यसअघि नै मार्ने योजना भएको विषयमा ट्रम्प र तेल अविभ दुवैले सार्वजनिक रूपमा केही खुलाएको छैन।

ट्रम्प क्यानडामा भएको जी-७ मुलुकहरूको सम्मेलन बीचमै छाडेर सोमबार वाशिङ्टन फर्केका थिए। उनले ह्वाइट हाउसमा उनले राष्ट्रिय सुरक्षा परिषदको बैठक राखेर मध्यपूर्व संकटबारे छलफल गरेका थिए।

अमेरिकाले इरानविरूद्ध अहिलेसम्म रक्षात्मक कदम मात्रै चालेको छ। जसमा इरानले इसराइमा हानेको मिसाइल खसाल्न मात्रै सहयोग गरिरहेको छ। सुरक्षा परिषद् बैठकपछि अमेरिकाले मध्यपूर्वमा थप लडाकू विमान र अन्य विमानको तैनाथ बढाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानले छैटौं दिन बिहानै इसराइलमा दुइटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। मिसाइल आक्रमण हुँदा इसराइली सहरहरूमा साइरन बजेका थिए। मिसाइलहरू प्रतिरक्षा प्रणालीले निस्तेज पारिसकेको इसराइली अधिकारीहरूले बताएका छन्।