सरकार भन्छ जोरबिजोरमा सवारी चलाऔं, पुलिस भन्छ रोक किन चलाएको ?

२९ जेठ, काठमाडौं । हिजो बुधबार राति बसेको मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गर्दै पसलहरु खोल्न दिने र सवारी साधनहरु जोर कि बिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको छ । तर, सरकारको निर्णय बिपरीत आज बिहीबार बिहानसम्म राजधानीमा खटिएका प्रहरीसम्म त्यो आदेश नपुगेको जस्तो देखियो ।

आज बिहान प्रहरीले उपत्यकाका धेरै ठाउँमा मोटरसाइकल र स्कुटीहरु नियन्त्रणमा लिइरहेको सर्वसाधारण र प्रहरीवीच भनाभन भइरहेको दृश्य देखिन्थ्यो । प्रहरीहरुले माथिको आदेश भन्दै उनीहरुलाई गन्तव्यमा जान नदिई रोकेर राखिराखेको छ ।

मोटरसाइकल चालकहरु सरकारले पसल व्यवसाय चलाउन दिने र जोर कि बिजोर प्रणालीका आधारमा गाडी चल्न दिने भनेको बताउँदै थिए । तर, प्रहरी भने सरकारको निर्णय आफूहरुसम्म आइनपुगेको जवाफ दिइरहेको छ ।

तर, हिजोको मन्त्रीपरिषद्को बैठकले सरकारको निर्णयको औपचारिक जानकारी मिडियालाई दिएको थिएन । सम्भवता आज दिउँसो सरकारका प्रवक्ताले पत्रकार सम्मेलन गरेर निर्णय जानकारी गराउन सकछन् ।

लकडाउनबाट उकुसमुकस भएको जनजीवन कतिखेर लकडाउन खुकुलो होला र काम गर्न पाइएला भन्ने चिन्तामा छ । तर, सरकारी अधिकारीहरुको काम गराइचाहिँ पुरानै पाराको छ ।

आजबाट जोर नम्बरका सवारी साधन चलाउन पाइन्छ कि बिजोर नम्बरका ? यो प्रश्न गर्दा एक ट्राफिक अधिकारी भन्छन्, ‘अब सरकारले जोर–बिजोर लागू गर्ने निर्णय गरेको भए, त्यो जनाकारी प्रहरीमा आउला, त्यसपछि बैठक बस्छ र कुन मोडालिटीमा जाने भन्ने टुंगो लाग्छ । त्यतिबेलासम्म हामीले जे गरिरहेका थियौं, त्यो जारी रहन्छ ।