Breaking News

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त गरिएको छ ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तर निर्णय बमोजिम उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।
यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बी.ई. गरेकी छन् । उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्दै २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी उनले २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन ।
पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।