गजामा युद्धविराम गर्ने प्रस्तावमा सहमतिका लागि हमासले विभिन्न शर्त राखेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकोफले गजामा ६० दिनको अस्थायी युद्धविराम गरी २८ बन्धक छाड्ने प्रस्ताव स्वीकार गर्नका लागि हमासले विभिन्न शर्त राखेको हो।
६० दिनको अस्थायी युद्धविराको प्रस्ताव इसराइलले स्वीकार गरिसकेको छ। जसमा इसराइली जेलमा रहेका १ हजार २ सय प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने पनि उल्लेख छ।
हमासले भने कम्तिमा पनि चारवटा शर्त राखेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
युद्धविराम प्रस्तावमा २८ जना बन्धक रिहा गर्ने भनिएको छ। हमासले भने १० जना जिवित बन्धक र १८ जना मृतकको शव हस्तान्तरण गर्ने शर्त राखेको छ।
त्यस्तै बन्धकहरुको रिहाइ तीन चरणमा गर्नुपर्ने पनि हमासको प्रस्ताव छ।
त्यतिमात्रै होइन गजामा पूर्ण रूपमा युद्ध अन्त्यको सुनिश्चित हुनुपर्ने र गजा क्षेत्रबाट इसराइली सेना हट्नुपर्ने शर्त राखेको छ।
गजामा रहेकाहरूले लामो समयदेखि मानवीय सहायता प्राप्त गर्न नसकेको बताउँदै हमासले ठाउँठाउँमा सहायता वितरण गर्नुपर्ने शर्त राखेको छ।
हमासका सिनियर अधिकारी बसिम नइमले युद्धविराम गर्नु सकारात्मक भएको तर विटकोफले इसराइलको पक्ष लिएको आरोप लगाए। ती शर्तहरूमा इसराइल तयार भएको अवस्थामा युद्धविराममा सहमति जनाउने हमासको धारणा छ।
इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविरामका लागि हमास तयार नभए गजामा निरन्तर सैन्य कारबाही भइरहने चेतावनी दिएका छन्।
‘इसराइलले आफ्ना बन्धकहरु फिर्ता ल्याउन र हमासको अन्त्य गर्नका लागि कारबाही जारी राख्छ,’ उनले भनेका छन्।
ट्रम्पका मध्यपूर्व दूत विटकोफले भने हमासको प्रस्ताव कुनैपनि हालतमा मान्य नहुने बताएका छन्।
‘यो पूर्ण रूपमा अस्वीकार्य छ। यसले हामीलाई पछाडि लैजान्छ अगाडि होइन। वार्ताअनुसारको प्रस्तावलाई हमासले स्वीकार गर्नुपर्छ। आगामी सातादेखि युद्धविराम र बन्धक रिहाको काम सुरू गर्नुपर्छ,’ विटकोफले भनेका छन्।
संयुक्त राष्ट्रसंघले गजाका नागरिकहरू अहिले इतिहासकै खराब अवस्थामा रहेको बताउँदै मानवीय सहायताहरू सहजताका साथ पुग्ने अवस्था बनाउन आग्रह गरेको छ।
रोयटर्सका अनुसार गजामा मानवीय सहायताका लागि गएका ट्रकहरू हमासकै लडाकू समूहले बन्दुक देखाएर अपहरण गर्ने र केही ट्रकहरू गजामै भोकले पिरोलिएकाहरूबाट लुटिएका छन्।
‘८० दिनदेखिको नाकाबन्दीका कारण भोकमरी लागेको छ। यस्तो अवस्थामा आफ्नै अगाडिबाट खाद्यान्न गइरहेको कसरी हेर्न सक्छन्,’ गजामा मानवीय सहायता पुर्याइरहेको विश्व खाद्य कार्यक्रमले विज्ञप्तीमा भनेको छ।
एजेन्सी

