Breaking News

कांग्रेसले बेलैमा नसमाल्ने हो भने पार्टी अझै डुब्दै जाने – नेता डा. शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउन सुझाव दिएका थिए । कोइरालासहितका नेताले गृहमन्त्रीको राजीनामाको पक्षमा धारणा राखेपछि हिजो सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकमा सो विषयमा छलफल भएको थियो । छलफलमा गृहमन्त्रीको राजीनामा माग्ने कोइराला, शर्मा र बजगाईलाई स्पष्टीकरण सोध्नुपर्ने कुरा उठेको थियो । तर शेखर पक्षका कांग्रेस नेता तथा कार्यकर्ता भने रुष्ट बनेका छन् ।

कोइरालाले पनि कांग्रेसमा आफ्नो विषयमा भएको छलफलप्रति असन्तुष्टि व्यक्त गरेका छन् । विराटनगरमा आज आयोजित एक कार्यक्रममा कोइरालाले भने, ‘नीतिगत भ्रष्टाचारको नाममा सचिव र सचिवभन्दा तलका मानिसहरू फस्दै गइरहेका छन् । आफ्नो मानिस भयो भने नेताहरू मिलेर जोगाइदिने, कसैको मानिस होइन भने फसाइदिने अवस्था छ । यसले हामी कस्तो देश बनाउन खोज्दैछौं रु यो अत्यन्त गम्भीर विषय भएर गएको छ ।’

कोइरालाले यस्तै अवस्थालाई कांग्रेसले बेलैमा नसमाल्ने हो भने पार्टी अझै डुब्दै जाने उनले चेतावनी पनि दिए । ‘मैले त हिजो सोचेको थिएँ । कांग्रेस पदाधिकारीको बैठकमा प्रधानमन्त्री केपी ओलीजीले १५ गतेको राजावादीको आन्दोलनमा काठमाडौँलाई एमालेकरण गर भनेर भनेको विषयमा छलफल होला, तर, मेरो बारेमा छलफल भएछ । मलाई खुसी लाग्यो । हामी कहाँ पुगिसकेका रहेछौँ ? हाम्रो नैतिकता कहाँ पुगिसकेको छ रु हाम्रो संस्कार कहाँ पुगिसकेको छ ?,’ कोइरालाले भने, ‘अझै पनि हाम्रा नेतृत्वले बुझ्न सक्नु भएन भने हामी अझै डुब्दै जान्छौं । समाल्नुहोस् । नेतृत्व जसले गरिरहनु भएको छ उहाँहरूले समाल्नुहोस् । हामीले त सम्झाउने हो ।’