११ जेठ, पोखरा । पोखरामा जारी युवा संघको नेतृत्वको लागि चुनावी प्रतिस्पर्धाबाट छानिने भएको छ । शुुरुमा अध्यक्ष ओलीले हालका अध्यक्ष क्षितिज थेवेलाई दोहोर्याउन खोजे पनि अध्यक्षमा धेरै जनाको आकांक्षी देखिएपनि सर्वसहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि अब दुई समूहबीच चुवनावी प्रतिस्पर्धा हुने भएको छ । निवर्तमान अध्यक्ष क्षितिज र महासचिव सुमन पुरीबीच प्यानलै बनाएर चुनावी मैदानमा जाने भएका छन् ।
संघको संस्थापक अध्यक्ष ओलीसहित नेताहरूको दबाब र प्रभावको सामना गर्दै प्यानलसहित प्रतिस्पर्धा गर्न नेता र प्रतिनिधि मैदानमा उत्रिएका छन् ।
महासचिव सुमन पुरीले अध्यक्षमा नछोड्ने अडान लिएकै कारण देशभरका प्रतिनिधिहरूले आफ्नो नेतृत्व छान्ने अवसर पाएका हुन् । तर, जुनसुकै बेला पनि नेताहरूले एक जनाको नाममा निर्णय गर्न सक्ने, क्षितिजलाई सर्वसम्मत बनाउन रातभरमा ओली आफैंले निर्देशन दिनसक्ने भयसमेत प्रतिनिधिहरूमा देखिएको छ ।
नेतृत्वको निर्देशन र आदेशविपरीत प्रतिस्पर्धामा जाँदा पछि अवसरबाटै बञ्चित गर्ने, विभिन्न ठाउँमा निषेधै गर्नेसम्मका विगतका कारण पनि प्रतिनिधिहरू त्रसित देखिएका छन् । तर, ओलीले थेबेलाई नै दोहोर्याउन दबाब दिँदा एमालेभित्र आफ्नो प्रभाव बढाइरहेकी र अबको नेतृत्वको रूपमासमेत हेरिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथले सुमनको समूह उत्साहित बनेको बनेको छ ।
क्षितिजलाई सर्वसम्मत बनाउन महेश बस्नेत, भानुभक्त ढकाल, राजीव पहारीलगायतले कसरत गरेको भएपछि असफल भएका हुन् । वर्तमान अध्यक्ष क्षितिज र महासचिव सुमन पुरी अबको नेतृत्व प्यानलैसहित प्रतिस्पर्धाको मैदानमा प्रवेश गरेका छन् ।
शुक्रबारदेखि सर्वसम्मत गर्न दबाब बढाएका नेताहरूको प्रयासलाई असफल पार्दै दुवै जनाको प्यानलले आइतबार मनोनयन दर्ता गराएका छन् ।
क्षितिजको समूहबाट उपाध्यक्षमा माहाराज गुरूङ र विनय शाह, महासचिव महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिव महिला निशा लिम्बू, सचिव खुल्ला मोबिन आलम, मदन भण्डारी, देबु बस्नेतले मनोनयन दर्ता गराएका छन् ।
सुमन समूहबाट उपाध्यक्षमा प्रकाश गौतम, पर्वत भण्डारी, महासचिव कुबेर अधिकारी, उपमहासचिव खेम शर्माले मनोनयन दर्ता गराएका छन् ।
महिला सचिवमा रेशु तामाङ र सचिव (मधेशी) मा चित्ररञ्जन यादव, खुला सचिवमा धुर्व खड्का र अरूण कुँवरले सुमन समूहबाट मनोनयन दर्ता गराएका छन् ।
९ सदस्यीय पदाधिकारीसहित १ सय ५१ पदमा निर्वाचन हुने छ । योबाहेक पनि लेखा, अनुशासन, निर्वाचन र युवा विज्ञ आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिवकोसमेत मतदान हुनेछ । महाधिवेशनमा १ हजार ७६४ प्रतिनिधिले मतदान गर्ने छन् ।
मनोनयन दर्ता गराएर प्यानल नै चुनावी मैदानमा होमिएपछि नेताहरूको सक्रियतासमेत बढेको छ । कुन नेताको कसलाई समर्थन छ भन्ने चासोसमेत प्रतिनिधिहरूमा व्यक्त भइरहेको छ ।
सहमतिको प्रयास भन्दै नेता होटलमा बैठक बस्ने, प्रतिनिधि अनिर्णयको बन्दी बन्नुपर्ने स्थिति सिर्जना भएको भन्दै असन्तुष्टिसमेत जाहेर भएको थियो ।
शनिबार अध्यक्ष क्षितिजको समूहले उनलाई सर्वसम्मत अध्यक्ष घोषणा गर्न माग गरेर नारा लगाउँदै प्रदर्शन गरेपछि सुमनको समूहले पनि अध्यक्षको दाबीसहित प्रदर्शन गरेको थियो ।
दुवै पक्षका पदाधिकारीहरूले दाबी गर्दै नाराबाजी प्रदर्शन गर्दा प्रतिनिधिहरू भने चुनावी प्रक्रिया सुरु हुनेनहुने अन्योलकै बीच कार्यक्रम स्थगित भएको थियो ।
आइतरबा केही विभागका प्रविनिधिका विषयमा विवाद उत्पन्न भएको थियो । पछि विवाद टुंग्याउँदै प्रतिनिधिको नाम टुंग्याएपछि निर्वाचन कार्यक्रम घोषणा गरिएको हो ।
कार्यपालिकाअनुसार आइतबार रातिसम्म उम्मेदवारको मनोनयन फिर्ता, दाबीविरोधसक्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने प्रयास भइरहेको निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलले बताए ।
सार्वजनिक निर्वाचन कार्यक्रमअनुसार नै सम्पन्न गर्न नेताहरूसँग छलफल भइरहेको उनले जानकारी दिए । सोमबार बिहान साढे ७ बजेबाट मतदान थाल्ने बताइएको छ ।
रातभरमा नेतृत्वले सहमति गराउन वा कुनै निर्णय गर्न सक्ने भएकाले सोमबार बिहानमात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन सक्ने नेताहरूको भनाइ छ ।
अघिल्लो पटक पनि सुमनले अध्यक्षमा दाबी गरेका थिए तर अन्तितमा नेतृत्वकै आदेशअनुसार थेबे सर्वसम्मत अध्यक्ष बनेका थिए ।
युवा संघका अहिलेसम्मका अध्यक्ष
केपी शर्मा ओली
केशव स्थापित
उदयराज पाण्डे
पशुपति चौलागाईँ
गोकर्ण विष्ट
अजम्बर राई काङबाङ
महेश बस्नेत
निरुदेवी पाल
राजीव पहारी
रमेश पौडेल
बच्चनबहादुर सिंह
किरण पौडेल
क्षितिज थेबे

