Breaking News

युवा संघ नेपालको पोखरामा जारी महाधिवेशनमा दुइटा समूहले अधिवेशन स्थलमा नाराबाजी

युवा संघ नेपालको पोखरामा जारी महाधिवेशनमा दुइटा समूहले अधिवेशन स्थलमा नाराबाजी गरेका छन्।

पोखरा सभामा जारी १० औं महाधिवेशनको बन्दसत्र बाहिर संघका अध्यक्ष क्षितिज थेबे पक्षले नाराबाजी गरेपछि बन्द सत्रभित्र अध्यक्षका दाबेदार सुमन पुरी पक्षका युवाहरूले नाराबाजी गरेका हुन्।

थेबे पक्षका युवाहरूले क्षितिज थेबे जिन्दावाद, युवा संघले के भन्छ, क्षितिज थेबे ले भन्छ जस्ता नारा लगाएका छन् भने पुरी पक्षले पनि युवा संघले के भन्छ सुमन पुरी ले भन्छ भन्दै नाराबाजी गरेका छन्।

संघका वर्तमान अध्यक्ष थेबे पुन अध्यक्षमा दोहोरिन चाहेका छन् भने महासचिव पुरी पनि अध्यक्षका प्रत्यासी देखिएका छन्।

संघले हालसम्म निर्वाचन तालिका भने सार्वजनिक गरिसकेको छैन।

प्राप्त सुचना अनुसार अध्यक्षमा वर्तमान अध्यक्ष थेबेलाई नै पुन अध्यक्षमा दोहोर्‍याउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहेका छन्। पुरी पक्ष भने निर्वाचन प्रक्रियामा जान चाहेको ती नेता बताउँछन्।

महाधिवेशनमार्फत आइतबार नयाँ नेतृत्व टुङ्गो लगाएर महाधिवेशन सकिने कार्यतालिका छ।

शुक्रबार महाधिवेशनको उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न र बाह्य घुसपैठ नगर्न निर्देशन दिएका थिए।

दुई पक्षले गरेको नाराबाजी प्रचारको शैली मात्र भएको युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष माधव बाँस्तोलाले बताए।

प्रचार शैली सौहार्द भएकाले कुनै अप्रिय घटनाको सम्भावना नभएको उनको जिकिर छ।

‘साथीहरूको प्रचार शैली हो यो, यसबाट आत्तिनुपर्ने छैन,’ उनले भने, हामी सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्छौं, नभए लोकतान्त्रिक विधि, पद्धति त छँदैछ।’

महाधिवेशनमा भाग लिए देशभरका सबै पालिका र जिल्लाबाट प्रतिनिधि सहभागी भएको युवा संघले जनाएको छ।