Breaking News

‘प्रचण्ड’ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा प्रहार

पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कडा प्रहार गरेका छन्। शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले ओली नेतृत्वको सरकारलाई यथास्थितिवादीको संज्ञा दिँदै सोही यथास्थितिवादी र  प्रतिगामी राजावादी शक्तिबिच साँठगाँठ भएको आरोप लगाए ।

‘चैत १५ गते समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभाले राजावादी र प्रतिगामी गठबन्धनको भण्डाफोर गर्‍यो,’ उनले भने, ‘तीनकुनेमा देखिएको हिंसा, आगजनी, लुटपाटले उनीहरूको चरित्र उजागर गर्‍यो।’ उनले तर गणतन्त्रवादीहरू अनुशासित ढङ्गले प्रस्तुत भएको र त्यसले जनमत आफ्नो पक्षमा रहेको स्पष्ट भएको बताए।

ओलीप्रति कटाक्ष गर्दै प्रचण्डले भने, ‘म सुन्दैछु, प्रधानमन्त्री पोखरा आएका थिए र समाजवादी मोर्चाको भव्य तथा सभ्य सभालाई ‘राजासँग मिल्ने अभियान’ भनेर बोलेछन्। यदि साँच्चै त्यस्तै बोलेका हुन् भने, म उनलाई एकपल्ट मेन्टल हस्पिटल जान सल्लाह दिन चाहन्छु।’

प्रचण्डले आफ्ना पछिल्ला अभियानहरू केवल माओवादी केन्द्रको नभई समग्र जनताको राष्ट्रिय अभियान बन्न पुगेको उल्लेख गरे। ‘झापाको केचनाकवलबाट सुरु भएको अभियान कास्की आइपुग्दा यो देशको समाधान, राजनीतिक स्थायित्व र राष्ट्रिय स्वाधीनताको साझा अभियान बनिसकेको छ,’ उनले दाबी गरे।

उनले स्थानीय तहमा नेकपा एमाले वा कांग्रेसको नेतृत्व भएको ठाउँहरूमा समेत अभियानलाई स्वागत र सहयोग प्राप्त भएको उल्लेख गर्दै राष्ट्रव्यापी समर्थनले अभियानको वैधता पुष्टि गरेको बताए।