काठमाडौँ । जेठ १५ गतेको आन्दोलनको पूर्वसध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहले राजावादी नेताहरुसँग भेट गरेका छन् । नवराज सुवेदी नेतृत्वको राजावादी समूहले वर्तमान व्यवस्थाविरुद्ध जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको सन्दर्भमा ज्ञानेन्द्रले सुवेदीसहित केही नेताहरुसँग भेट गरेका हुन् ।
काठमाडाको एक होटलमा ज्ञानेन्द्रलाई भेट्न सुवेदीसहित राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अर्का राजावादी नेता केशर बहादुर विष्ट पुगेका थिए । ज्ञानेन्द्रसँग के कुराकानी भयो भन्नेबारे केही खुलाइएको छैन ।
भेटको विषयलाई पूर्वराजाले गोप्य राख्न चाहेकाले पनि भेटमा सहभागीहरु खुल्न चाहेका छैनन् । यसबारे राप्रपाका अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सम्पर्क गर्दा सम्पर्कमै आएनन् ।
राजावादी समूहले राजतन्त्रको पुनर्स्थापना नभएसम्म आन्दोलन नरोकिने जिकिर गरेका छन् । तर, बिहीबार मात्रै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहलाई प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिएका थिए ।

