काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२५ स्थित किसान चोकमा लीला गिरीले भतिज र आफ्नी छोरीलाई खुर्पा प्रहार गरेर हत्या गरेका छन् । स्कुटरमा अङ्कलसँग स्कुल जान भनेर निस्केका सजन गिरी र छोरी प्रभालाई ४२ वर्षीय लीलाले हत्या गरेका हुन् ।
उनले मानसिक रोगको औषधी सेवन गर्ने गरेको परिवारका सदस्यहरूले बताएका छन् । चितवनका एसपी गोविन्द पुरी भन्छन्, ‘उहाँको मानसिक स्वास्थ्यमा समस्या रहेको देखिन्छ ।’
आफ्नो बुवालाई ‘उता जानुस्’ भनेर घरबाट बाहिर निकालेर आरोपीले ढोका थुनेर भतिजो र त्यसपछि छोरीलाई प्रहार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीको अवस्था पनि गम्भीर छ । उनको चितवन मेडिकल कलेजमा उपचार हुँदै छ ।