नेपाल वित्तीय संस्था कर्मचारी संघले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नगर्नुलाई वर्तमान कामू गभर्नेरको लाचारीपन भनेको छ।
संघका अध्यक्ष हरिकृष्ण भट्टराई र महासचिव संजिव बखेलले मंगलबार विज्ञप्ती जारी गरेर गभर्नरमा दाबी गर्ने वर्तमान कायममुकायम गभर्नर निलम तिम्सिना ढुंगानाले एउटा कर्मचारीले दिएको राजीनामा स्वीकृत गर्न नसक्नुलाई लाचारीपन भनेको हो।
वैशाख ५ गते राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशकबाट डा. गुणााकर भट्टले बुझाएको राजीनामा ढुंगानाले अझै स्वीकृत गरेकी छैनन्।
आफूलाई काबिल भन्दै गभर्नरको दाबेदारी प्रस्तुत गरिरहेको वर्तमान कार्यवाहक नेतृत्वबाट एकजना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले लाचारिपन व्यक्त भइरहेको महसुस हामीलाई भएको छ विज्ञप्तीमा भनिएको छ।
यसले वर्तमान नेतृत्वको नैतिकता एवम् क्षमतामा नै प्रश्न उठेको संघको धारणा छ।
उसले त्यस्ता कार्य संविधानको धारा २९, श्रम ऐन २०७४ को दफा १४१, सुशासन ९व्यवस्थापन तथा सञ्चालन० नियमावली, २०६५ को नियम ३५ तथा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ को समेत ठाडो उल्लंघन भएको बताएको छ।
संघले गभर्नरजस्तो मर्यादित तथा संवेदनशील पद राजनीतिक दाउपेचको रुपमा प्रयोग भएको र बैंकको वर्तमान नेतृत्वले उक्त दाउपेचलाई सघाएको टिप्पणी र समाचारहरूले राष्ट्र बैंकको गरिमामा आँच पुगेको बताएको छ।

