Breaking News

श्रीमानले श्रीमतीलाई ढुङ्गाले टाउकोमा हानेर बीभत्स हत्या

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका—१२ को झिंगेनारा खोलाका मृत भेटिएकी गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय प्रेमा ओलीको हत्या भएको खुलेको छ । हत्या गर्ने उनकै श्रीमान‍् दर्शन खत्री रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले बतायो ।

श्रीमान‍् खत्रीले नै ढुङ्गाले टाउकोमा हानेर बीभत्स तरिकाले प्रेमाको हत्या गरेको उनले बयानमा बताएका छन् । घटना शनिबार बेलुकाको भएकाले उनको शव आइतबार बिहान १० बजेतिर जङ्गलमा थाकलको खजुरी टिप्न गएका स्थानीयहरूले खोल्सामा देखेका थिए ।

उनीहरूले ‘कोही मरेको छ भनी’ छिन्चु प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी टोली त्यहाँ गएर अनुसन्धान थालेको थियो । अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरसमेत ल्याएको थियो भने आइतबार बेलुकातिर नै हत्या आशङ्कामा श्रीमान‍् दर्शन खत्रीलाई नियन्त्रणमा लिएको थियो ।

गुर्भाकोट नगरपालिका–५, का दर्शन र सोही नगरपालिकाको वडा नम्बर ६, मेहलकुनाकी प्रेमाबिच ७ वर्षअघि प्रेम विवाह भएको थियो । त्यसको केही वर्षमा उनीहरूको छोरी जन्मियो । अहिले उनीहरूको छोरी पाँच वर्षको भइसकिन् ।

लगत्तै दर्शन नेपाली सेनामा नाम निकाल्न सफल भए । अहिले काभ्रेको वीरदल गणमा कार्यरत छन् । सेनामा कार्यरत दर्शनले अन्य महिलासँग हिमचिम बढाउन थाले । श्रीमान‍्–श्रीमतिबिच यहीँबाट अविश्वास बढ्न थाल्यो । ‘सेनामा कार्यरत भएपछि दर्शन अन्य महिलाहरूसँग सम्बन्ध बनाउनतिर लागे,’ दर्शनको बयानलाई उद्धृत गर्दै प्रहरीले बतायो, ‘अहिलेसम्म उसको त तीन वटा गर्लफ्रेन्ड रहेछन् । त्यो कुरा प्रेमाले चाल पाउन थालिन् ।’

प्रेमाले श्रीमान‍् अन्य महिलासँग सम्बन्ध बढाएको थाह पाएरै उनीमाथि प्रश्न उठाउन थालिन् । त्यही विषयमा पाँच वर्षदेखि बुढाबुढीबिच झैझगडा हुने, कुटपिट हुने गरेको स्थानीयले प्रहरीसमक्ष बताएका छन् ।

यो क्रम पाँच वर्षदेखिकै हो । बिचमा दर्शन विदामा घर आए पनि अन्य महिलासँग फोनमा कुराकानी गरिरहने गर्थे । उक्त कुरा प्रेमालाई मन पर्थेन । दर्शन शनिबार बिदामा घर आउने भए । यो कुरा स्वयं उनले नै श्रीमती प्रेमालाई भने । उनलाई छिन्चु बजारसम्म लिन आउन पनि भने । श्रीमान‍्ले प्रेमालाई बोलाएको ह्वाट्सप च्याटमा पनि देखिएको प्रहरीले बतायो ।

माइतीघरमा रहेकी प्रेमा श्रीमान‍्लाई लिन भनेर सुर्खेतको छिन्चु बजार पुगिन् । सुरुमा बुढाबुढीबिच राम्रै कुरा भए पनि विस्तारै झगडा हुन थाल्यो ।

‘बजारमै उनीहरूबिच झगडा सुरु भयो, श्रीमान‍्ले थोरै पर जङ्गलतिर जाऊँ भन्दै लगेछन्, ‘त्यहाँ पनि झगडा हुन थाल्यो ।’ शनिबार बेलुका ७ बजेसम्म उनीहरूबिच झिंगेनारा जङ्गलमा झगडा भइरह्यो । त्यसपछि खत्रीले रिसको आवेगमा आएर ढुङ्गाले प्रेमाको टाउकोमा प्रहार गरेको कुरा प्रहरीसमक्ष बयान दिएका छन् । ‘ढुङ्गा लागेपछि प्रेमा ढलिन्, खत्रीले पाँच मिनेटसम्म त्यहाँ कुरेर बसे,’ खड्का भन्छन्, ‘त्यसपछि मृत्यु भयो भन्ने थाहा पाएपछि उनकै सलले प्रेमाको घाँटीमा बेरे ।’

आत्महत्या गरेको जस्तो बनाउन उनले नजिकैको खोल्सामा लगेर फालिदिए । ‘सलले घाँटीमा बेरेर थोरै तल खोल्सामा रहेको पानीमा लग्यो, ‘आत्महत्या गरेजस्तो बनाउका लागि त्यस्तो गरेको हुँ भनेर बयानमा उसले स्वीकारका छन्।’

हत्यापछि नै राति ८ बजेतिर दर्शन त्यहाँबाट गुर्भाकोटस्थित घरमा गएका थिए । एकअर्काबिच शङ्का, उपशङ्का अत्यधिक थियो । ‘केटाले केटीलाई तेरो अर्को केटा छ भन्ने, अनि केटीले केटालाई तेरो अर्को केटी छ भन्ने रहेछन्,’ ‘त्यही विषयमा दुई जनाबिच सधैँ झगडा भइरहन्थ्यो । प्रहरी स्रोतले बतायो ।