२१ वैशाख, काठमाडौं । वर्षाका कारण नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्र र काठमाडौं– हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । शनिबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।
दाउन्ने क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएर चिप्लो भएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।
सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ । रातिदेखि वर्षाका कारण सडक बन्द भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

