नवलपरासी । मौलिक कला, संस्कृति तथा साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको प्रचण्ड बुढाथोकी अध्ययन केन्द्र नेपाल, बर्दघाट–२, चिसापानीले नगरस्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बर्दघाट नगरपालिकाको संरक्षकत्वमा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठले दिवंगत प्रचण्ड बुढाथोकीप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उहाँले गीत–संगीत र कलामार्फत जनचेतना फैलाउने कार्यमा पु¥याएको योगदानको चर्चा गरे। उनले स्व. बुढाथोकीले राज्य तहका नेताहरुलाई समेत शिक्षित बनाएको स्मरण गर्दै, उहाँको नाममा स्थापित अध्ययन केन्द्रलाई सबैले मिलेर अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा नगर प्रमुख श्रेष्ठले बर्दघाट प्रज्ञा प्रतिष्ठानमार्फत नगरका मुर्धन्य व्यक्तित्वहरू र स्थानीय भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनमा भइरहेको प्रयासको जानकारी दिए । त्यसैगरी, नगर सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङले बर्दघाट नगरको समग्र विकासका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने कुरामा जोड दिए । उनले वडा नं. २ लाई अन्य वडाहरूको तुलनामा भौगोलिक अवस्था, सामाजिक उत्तरदायित्व तथा संस्थागत गतिविधिको दृष्टिले पृथक पहिचान बनाइसकेको बताए।

कार्यक्रमको अध्यक्षता संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीले गरेका थिए भने प्रमुख अतिथि नगर प्रमुख शम्भुलाल श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य धनिराम चौधरी, वडा नं. २ का अध्यक्ष गणेशबहादुर क्षेत्री, चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हुमबहादुर गुरुङ, हाम्रो सुपर साकोसका अध्यक्ष बिष्णु बराल, सयपत्री सामुदायिक वनका अध्यक्ष वासुदेव चौधरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष सिन्धु जलेसाले स्व. प्रचण्ड बुढाथोकीले स्वदेश तथा विदेशमा प्राप्त गरेको सम्मान र उहाँको व्यक्तित्व तथा कृतित्वका कमचर्चित पक्षहरूलाई उजागर गरे। कार्यक्रम सञ्चालन केन्द्रका सचिव प्रेम भुजेलले गरेका थिए। कार्यक्रम अन्तर्गत नगरका वडा नं. १ देखि १६ सम्मका विभिन्न समूहहरूबाट एकल गायन, नृत्य, लाखे नाच तथा पञ्चेबाजाको प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।

