Breaking News

मेनपावर कम्पनीले वार्षिक कम्तीमा १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यात्मक हट्यो

काठमाडौँ । इजाजत प्राप्त मेनपावर कम्पनीले वार्षिक कम्तीमा १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउनुपर्ने बाध्यात्मक प्रावधान हटेको छ। वैदेशिक रोजगार ऐन संशोधन गर्ने क्रममा उक्त प्रावधान अन्य विभिन्न प्रावधान संशोधन भएर आएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०७५ चैत १९ गते वैदेशिक रोजगार ऐन संशोधन गर्दै लगातार दुई वर्षसम्म वार्षिक एक सय जना पनि श्रमिक पठाउन नसकेको इजाजतपत्र रद्द गरिने व्यवस्था गरिएको थियो । त्यसको विरुद्धमा मेनपावर व्यवसायीहरूले आन्दोलन गर्नुका साथै हटाउनुपर्ने भन्दै लबिङ गर्दै आएका थिए ।

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ बाट उक्त प्रावधान संशोधन गरिएको हो । प्रतिनिधिसभाबाट मंगलबार वैदेशिक रोजगार ऐनसहित विभिन्न ऐनलाई एकैपटक संशोधन गर्ने गरी बनेको विधेयक पारित भएको थियो ।

श्रम मन्त्रालयमार्फत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले २०८० वैशाख २६ गते केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० मा ‘वर्षमा कम्तीमा सय जना श्रमिक पठाउनै पर्ने प्रावधान हटाउने’ प्रस्ताव राखिएको थियो । सोही अनुसार प्रतिनिधिसभाले विधेयक पारित गरेको हो।