प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता घटक नेपाली कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरिदिएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्डको बैंककमा रहेका बेला प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन्।
कांग्रेसको २०७८ मा भएको १४ औं महाधिवेशनबाट रामेछाप सभापति तथा २०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावबाट प्रतिनिधि सभा सदस्य निर्वाचित तामाङ २०८१ साउन १८ गते राज्यमन्त्री नियुक्त भएका थिए।
तामाङलाई के कारणले राज्यमन्त्रीबाट बर्खास्त गरिएको हो भन्ने विषयमा प्रधानमन्त्री ओलीले मुख खोलिसकेका छैनन् भने उनको सचिवालयले पनि कारण दिइसकेको अवस्था छैन।
साथै उनको पार्टी कांग्रेसले पनि यसबारे औपचारिक धारणा दिएको छैन।
तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा बुधबार २०८१ असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद हेरफेर गरेका छन्।
जसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई नियुक्त गरिएको छ भने राज्यमन्त्रीको सूचीबाट तामाङको नाम हटेको छ।
कांग्रेस सांसद तामाङ ९ महिनामात्रै राज्यमन्त्री भए।

