५ वैशाख, काठमाडौं । राप्रपाले भोलि बिजुलीबजार क्षेत्रमा प्रदर्शन गर्दैछ । राप्रपाले भोलिको प्रदर्शनमा निषेधित क्षेत्र तोड्नेगरी अघि बढ्ने बताएको छ । यस बिषयमा गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्दै प्रदर्शन गरेमा कानुन अनुसार कारबाही हुने बताएको छ ।
गृहको विज्ञाप्तिमा भनिएको छ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२–०१–०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने गृह मन्त्रालयले भनेको छ ।
‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ,’ गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालयले अनुरोध गरेको छ ।

