Breaking News

प्रधानमन्त्रीको शुभकामना : नयाँ वर्ष सुरु भएसँगै शैक्षिक सत्रको विद्यालय भर्ना अभियान आजदेखि सुरु

१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८२ साल आजदेखि आरम्भ भएको छ । नयाँ वर्ष सुरु भएसँगै शैक्षिक सत्रको विद्यालय भर्ना अभियान आजदेखि नै सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ भर्ना अभियान सुरु भएको हो । सबै अभिभावक तथा सरोकारवालाहरुलाई यो अभियान सफल पार्न नेपाल सरकारले आग्रह गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको शुभकामना सन्देश दिँदै विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।

समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरु लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

साथै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको पनि बताएका छन् ।

देशभरका शिक्षक तथा कर्मचारीहरु शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला प्रधानमन्त्री ओलीले सो प्रतिबद्धता जनाएका छन् ।

अहिले अनिवार्य तथा निःशुःल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या करिब २० प्रतिशत रहेको तथ्यांक प्रस्तुत गर्दै यो हाम्रा निम्ति दुःखको कुरा भएको बताएका छन् ।

गरिबीलाई न्यूनीकरण नगरी राष्ट्रिय लक्ष्यमा पुग्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो ।’ त्यसैले बालबालिकाहरुलाई विद्यालय बाहिर राख्न नसकिने उनले उल्लेख गरेका छन् ।

अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन अझै मिहिनेत गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।

उनले भनेका छन्, ‘यसमा थप सुधार गर्न शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने छ । यसका लागि प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील र सीपयुक्त जनशक्ति निर्माण हाम्रो प्राथमिकतामा रहेको छ ।’