Breaking News

काठमाडौं उपत्यकाको प्रदूषण अझै हटेन भोलिबाट केही सुधार आउने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाको प्रदूषण अझै हटेको छैन ।

आइतबार बिहान काठमाडौंको वायु शुद्धता सूचकांक (एक्युआई) २११ छ । यो भनेको हामीले सास फेर्ने तल्लो वायुमण्डल अत्यन्त विषाक्त रहेको छ । मौसमविद सञ्जिव अधिकारीले प्रदूषण तत्काल हट्ने नदेखिएको बताए । उनका अनुसार अहिले बिहान काठामाडौंको पारदर्शिता निकै कम छ ।

त्यसैले तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण हट्ने सम्भावना भोलिसम्मै नरहेको उनले बताए । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ । कोशी प्रदेशमा क्षेत्रहरूमा बादल लाग्ने र एक–दुई ठाउँमा दिउँसो छिटपुट पानी पर्ने सम्भावना रहेको उनले बताए ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ ।