Breaking News

सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले गरेका निर्णयहरु

काठमाडौं । बुटवलको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा उच्च अदालत तुलसीपुरले थुनामा राख्न आदेश दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ शुक्रबार साँझ पक्राउ परेका छन् । सभापति लामिछाने पक्राउ परेपछि रास्वपाको आकस्मिक भर्चुअल बैठक बस्यो । शुक्रबार अबेरदेखि आज शनिबार बिहानसम्म चलेको केन्द्रीय सचिवालयको बैठकले उच्च अदालत तुलसीपुर बुटवल इजलासले लामिछानेका सम्बन्धमा गरेको आदेशलाई सम्मान गर्ने निर्णय गरेको छ ।

यस्तै, अदालत संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने बैठकले निर्णय गरेको छ ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैँ, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने ।’

पक्राउ पुर्जी नलिएरै प्रहरी लामिछानेलाई पक्राउ गर्न गएकोप्रति रास्वपाले असन्तुष्टि पोखेको छ । ‘सभापतिको घरमा, त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पुर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले ग¥यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन’ रास्वपा निष्कर्ष छ । नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैरसंवेदनशील र गैरकानुनी कार्य भएको भन्दै रास्वपाले भत्सर्ना गरेको छ ।

यसैगरी रास्वपाले आज शनिबार चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्यरूपमा सफल पार्ने निर्णय गरेको छ । राज्यले विवेक गुमाएको बेला पार्टीले विवेक नगुमाउने भन्दै रास्वपाले भनेको छ, ‘हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिएको छ ।