काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले आफूमाथि ठुलो अन्याय भएको बताएका छन् । शुक्रबार पक्राउ पर्नुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो बताएका हुन् ।
‘ न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु’, उनले फेसबुकमा भनेका छन्, ‘ ममाथि ठुलो अन्याय भएको छ ।’
उनले आफैँले गिरफ्तारी दिन लागेको समेत बताएका थिए । तर, प्रहरी उनलाई नियन्त्रणमा लिन शुक्रबार राति नै निवासमै पुगेको थियो । सोहीअनुसार उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश उल्ट्याएको हो ।