१६ चैत, काठमाडौं । हिजो शुक्रबार तीनकुनेमा राजवादीले राजा ल्याउने गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि मुख्य योजनाकार भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई कानुनी दायरामा ल्याउनु पर्ने आवाज बढ्दै गएको छ ।
शनिबार सर्वसाधारणले सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान चलाएर ज्ञानेन्द्रलाई कानुनी कठघरामा ल्याउन सरकारलाई दबाब दिएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस हुँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरू नेकपा एकीकृत समाजवादीले पनि ज्ञानेन्द्रलाई नै मुख्य दोष देखाएका छन् ।
ज्ञानेन्द्रलाई कानुनी दायरामा ल्याउन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि आह्वान गरेको छ । हिंसात्मक घटनाको छानबिन गरेर दोषीमाथि कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले माग गरेको छ ।
घटनाको भोलिपल्ट आज शनिबार वर्तमान र पूर्वपदाधिकारीको बैठक बसेको थियो । बैठकले तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकाल्यो । हिंसा भड्काउने र हिंसामा सामेल हुने सबैलाई कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन कांग्रेसले माग गरेको छ ।
बैठकअघि शुक्रबारै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारको राजावादीले दुरुपयोग गरेको बताएका थिए ।
नेकपा एमालेले पनि तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाइएको उद्दण्डता, अराजकता र हिंसाको घोर भत्र्सना गरेको छ । एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतंकलाई दुरुत्साहन गर्ने यस्ता क्रियाकलाप भएको बताएका छन् ।
एमालेले लोकतन्त्रका पक्षमा र पश्चगमनको दुष्प्रयासविरुद्ध गोलबन्द हुन सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई आग्रह समेत गरेको छ ।
रास्वपाले पूर्वराजा पक्षधरबाट भएका निजी तथा सार्वजनिक सम्पत्तिमाथि लुटपाट र आगजनीजस्ता गतिविधिलाई अक्षम्य भनेको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति निकालेर भनेका छन्, ‘आम जनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाइ हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो ।’
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरे । भुसालले भनेका छन्, ‘तोडफोड तथा आगजनीमा संलग्न सबैलाई यथाशीघ्र कडा कारबाही गर्न जोडदार माग गर्दर्छौं ।’
घटनाको छानबिनको माग गरिरहेका दलहरूले पूर्वराजा ज्ञानेन्द्रलाई कानुनी दायरामा ल्याउने पर्ने माग उठाएका छन् । राजावादीको पछिल्लो गतिविधिमा पूर्वराजा ज्ञानेन्द्रकै संलग्नता रहेको भनेर उनैलाई जवाफदेही बनाउनुपर्ने बताएका
छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार आयोजित कार्यक्रममार्फत् पूर्वराजा ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन नसकिने बताए । ‘‘ज्ञानेन्द्र शाहलाई छाडा हुने छुट दिन सकिँदैन, नेपाली जनता त्यसको लागि तयार छैन । यसमा सरकार गम्भीर बनोस्,’ शनिबार समाजवादी मोर्चाको बैठकअघि पत्रकारहरूसँग प्रचण्डले भने ।