Breaking News

पुनरुत्थानवादीहरुबाट भएको हिंसात्मक घटना बारे तराई-मधेश लोकतान्त्रिक पार्टीको विज्ञप्ति

नेपालको जनताको लामो संघर्ष र बलिदानपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध राजतन्त्र र त्यसको निरंकूशता तर्फ धकेल्ने दूषित मनसायले हिजो १५ गते केही पुनरुत्थानवादीहरुद्वारा हत्या,हिंसा, लूटपाट, आगजनी गरी अराजकता निम्त्याउने कुत्सित दुष्प्रयासको तराई(मधेश लोकतान्त्रिक पार्टी भर्त्सना गर्दछ । जनताको सार्वभौम अधिकार र सर्वोच्चता लाई चुनौती दिने यस्ता घटनाहरुको न्यायिक छानबीन गरी दोषीहरुलाई न्यायको कठघरामा ल्याउन माग गर्दछौं ।

यस्ता प्रतिक्रान्तिवादी र पुनरुत्थानवादी शक्तिहरु विधिको शासनमा देखिएका बेथिति तथा भ्रष्टाचार र नातावाद, कृपावाद, समूहवादले प्रदूषित राज्यका अंगहरुको कारण जनतामा व्याप्त चरम निराशाको अनुचित लाभ लिन खोजेको तथ्यप्रति शासनसत्तामा बस्ने गरेका समूहहरुले बेलैमा बोध लिनु उचित हुने सत्यतिर सबैको ध्यान आकर्षित गराउँदछौं । सबै किसिमको कदाचारको अन्त्य र विधिको शासनप्रति अटूट प्रतिवद्धता एवं संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसार राज्यका अंगहरुमा समानुपातिक समावेशी भागीदारीको सुनिश्चितता नै यसको एक मात्र समाधान रहेको स्पष्ट गर्न
चाहन्छौं ।

पुनरुत्थानवादी अराजकतावादीहरुको हिंसाको शिकार भई आफ्नो कर्तव्य पथमा रहेको बेला पत्रकार सुरेश रजकले ज्यान गुमाउन बाध्य हुनु परेको घटनाले स्तव्ध छौं । स्व। सुरेश रजकको चीर शान्तिको कामना गर्दै वहाँको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।