Breaking News

आजबाट हिउँदे झरी, हिमपात रोकिदै मौसम सफा हुँदै जाने

आज आइतबारबाट हिउँदे झरी, हिमपात रोकिएको छ। आज नेपालभर पानी पार्ने उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आज कोशी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

त्यस्तै बागमती, गण्डकी प्रदेशका हिमाली भेगमा पनि आंशिक बदलीको सम्भावना छ। बाँकी भागमा मौसम पूर्णतया सफा रहने महाशाखाले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर छिटपुटदेखि मध्यम वर्षा भएको थियो। कतैकतै स्थानीय वायु समेतका प्रभावले उल्लेखनीय वर्षा भएको थियो। उदयपुरको मुर्कुची बजारमा ११६.८ मिलिमिटर पानी परेको मौसम विभागले जानकारी दिएको छ। धनकुटाको मझुवाघाटमा ९.४, धनकुटाकै मूलघाटमा ७.२, दोलखामा १४.६, खोटाङमा ६.२, सिन्धुलीमा ७.४, डोटीमा ९.२ मिलिमिटर पानी परेको थियो।

यद्यपि यस वर्षको हिउँद याममा औसमभन्दा कम वर्षा भएको छ। मंसिर १६ देखि फागुन १५ गतेसम्मको अवधिमा ११.० मिलिमिटर मात्रै वर्षा भएको विभागले जनाएको छ। विभागले २० वटा केन्द्रमा परेको पानीको आधारमा औसत वर्षा निकाल्ने गर्छ। हिउँद याममा ६०.१ मिलिमिटर वर्षा हुनेमा यस वर्ष औसतको तुलनामा १८.३ प्रतिशत मात्रै वर्षा भएको छ।

लामो समयपछि वर्षात् भएपछि पहाडी भेगका कृषकहरू खुसी भएका छन्। मध्य तथा हिमाली क्षेत्रमा मकैलगायत बाली लगाउने बेला भएको छ। त्यस्तै यसपालिको वर्षाले हिउँदे दलहन, तेलहन, गहुँलगायत बालीलाई पनि राहत दिएको छ।