नवलपरासी । प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नंको गाडीमा आगजनी भएको छ । नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चारजना घाइते भएको प्रहरीले जनाएको छ ।
झडपमा घाइते भएका पाल्हीनन्दन गाउँपालिका–३ कुश्माका ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
धवलको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको छ । केटीपक्षका सोवराती पवरियाले चलाएको लु१त ७७०० नंको पिकअपले ठक्कर दिँदा धवल गम्भीर घाइते भएका हुन् ।
धवलको पेटमा चोट लागेको छ । धवलसँगै सोही स्थान बस्ने ४५ वर्षीय बैजनाथप्रसाद लोनियलाई पनि गाडीले ठक्कर दिएको हो । लोनियको दुवै खुट्टामा चोट लागेको छ।
प्रहरीले घटनालाई नियन्त्रणमा लिन पाँच राउन्ड अश्रु ग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो।
केटाकेटीको प्रेम सम्बन्धलाई लिएर सुरु भएको विवादले झडपको रुप लिएको थियो । केही दिनअगाडि एक स्थानीय केटा र केटीबीच भागी विवाह भएको थियो । पछि दुवै जनालाई प्रहरीले छलफलपश्चात् अभिभावकको जिम्मा लगाएको थियो तर केही दिनपछि उनीहरु फेरि भागेपछि दुई परिवारका बीचमा मनमुटाव सुरु भएको हो।
केटीपक्षले केटाका दाइलाई कुटपिट गरेका थिए। सोही विषयमा आज झडप भएको हो। केटापक्षका सयौँ मान्छेहरु मोहरम पवरियाको घर घेर्न आउँदा ढुङ्गा हानाहान भएको थियो। केटी पक्षका सोवराती पवरियाले केटापक्षका मान्छेलाई गाडीले ठक्कर दिएपछि झडपले उग्ररुप लिएको प्रहरीले जनाएको छ।
ठक्कर दिने चालक पवरिया र गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।