काठमाडौं । पूर्वराजाको सत्तारोहण चाहनापछि राजनीतिक माहौल थप गर्माउन थालेको छ । पूर्वराजले दिएको वक्तव्यपछि नेताहरूले अनेक प्रतिक्रिया दिन थालेका छन् । आज (आइतबार)को प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले पूर्वराजाको अभिव्यक्तिबारे विभिन्न टिप्पणी गरेका छन् ।
कसले के भने ?
०८४ मा चुनाव लड्न चुनौती
नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिम्मत भए २०८४ को आमनिर्वाचन लड्न आउन चुनौती दिएकी छन् । आइतबारको प्रतिनिधिसभामा बोल्दै उनले प्रजातन्त्र दिवसमा पूर्वराजले दिएका अभिव्यक्ति र त्यसपछि पक्ष र विपक्षमा भएको बहसले तरङ्ग त सिर्जना गरेको बताइन् ।
उनले भनिन्– ‘…कुनै बहानामा गणतन्त्रमाथि प्रहार स्वीकार्य छैन । लोकतन्त्रका लागि लडेकाहरू सचेत हुन जरुरी छ । …सत्तामा फर्कने चाहना छ भने टिका लगाएर वा कसैको कृपाले होइन, नागरिकले पाउने अधिकार र सुविधाको उपभोग गर्दै २०८४ को निर्वाचन भाग लिने हिम्मत गर्नुस् । होइन भने कहिल्यै पुरा नहुने, झर्ला र खाउँला भन्ने सोचाइ त्यागिदिनुस् ।’
त्यस्तै नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्रको संज्ञा दिएका छन् ।
उनले भने, ‘आज सबै डेमोक्र्याट भएको देखियो, शहीदलाई सलाम। झन् गज्जब यो लाग्यो कि पुर्वराजा पनि डेमोक्रेसी स्थापनामा आफूले गरेको त्याग र योगदान सम्झेर नोस्टाल्जिक होइबक्सेछ’ समस्या डेमोक्रेसी होइन, बरु जबरजस्त स्थापित गर्न खोजिएका ओभररेटेट पात्र हुन । बुट पोलिसले बुट टल्काउन सक्छ, छालाको गुण बदल्दैन ।’
यता, राजावादी पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र विदेशीको बुई चढेर ल्याएको बताउँदै अहिले लुटतन्त्रमा परिणत भएकोले निरन्तर विरोध जारी राख्ने बताए ।
उनले भने, ‘यहाँ केही प्रश्न उठे। म नेपालमा राजालाई कुनै स्पेस दिनुपर्छ र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने पार्टीको अध्यक्ष हुँ तपाईँले गणतन्त्र लडेर ल्याएको होस् वा विदेशीको बुई चढेर ल्याएको होस्, त्यो लुटतन्त्रमा परिणत हुन्छ भने हामी निरन्तर विरोध गरिहन्छौँ।’
वामदेव गौतमको सुझाव
राष्ट्रिय सभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गरेर प्रधानमन्त्री बन्न सुझाव दिएका छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले पूर्वराजालाई दल खोलेर नै निर्वाचन आयोगमा दर्ता गराउन सुझाव दिए ।
सम्बोधनको क्रममा गौतमले भने– ‘तपाईंले पूनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस् । २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् निर्वाचित भई संसद्बाट प्रधानमन्त्री बन्नुस् र नेपालको चौतर्फी विकास र समृद्धि कायम गरी देखाइदिनुस् ।’
गगनको टिप्पणी
गत प्रजातन्त्र दिवस दिवसको अवसरमा पूर्वराजले गरेको अपिललाई राजावादीहरूले ठूलो उपलब्धिको रूपमा अर्थ्याएका छन् । यस्तोमा पूर्वराजाको अभिव्यक्तिलाई कहिले गणतन्त्रमा सामान्य रूपमा बोल्न पाउने अधिकारको प्रयोग गरेको भनिरहेका छन् भने कहिले दण्डनीय समेत भन्न थालेका छन् ।
नेपाली काँग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले बोलेकै भरमा वा विज्ञप्ति जारी गरेकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने मत राखेका छन् ।
पूर्व राजाको अभिव्यक्ति संविधान विरोधी भएको भन्दै उनलाई नियन्त्रणमा लिनुपर्ने मत पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राखेका थिए । यस्तोमा गगनलाई पनि सोधिएको प्रश्नमा गगनले बोलेकै कारण ज्ञानेन्द्रलाई पक्राउ नगरिने धारणा राखेका थिए ।
गत शुक्रवार विराटनगर विमानस्थलमा जनताले पटकपटक तानासाह र निरङ्कुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्ने स्पष्ट पारे । उनले भने,‘पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुखबन्द गर्न जादैनौँ ।’
प्रचण्डको आक्रोश
यसरी राजनीतिक रूपमा पूर्वराजाको विषयमा अनेक टिप्पणी चल्न थालेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने कडा आक्रोश पोखेका छन् । प्रचण्डले राजनीतिक प्रणालीमाथि टिप्पणी गर्दै रछ्यानमा मिल्काइएकाहरू सलबलाउन थालेको आरोप लगाएका छन् ।
पुर्वराजाबारेको टिकाटिप्पणी चर्किन थालेको छ । तर, पुर्वराजाले चाहने बित्तिकै उनी सहजै राजा बन्न सक्छन् ? यो विषय भने गहन देखिन्छ ।
दृष्टिबाट

