Breaking News

एकीकृत समाजवादीले सरकारले जारी गरेको छवटै अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय

नेकपा (एकीकृत समाजवादी) को आज बसेको पोलिटब्युरो बैठकले सरकारले जारी गरेको छवटै अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गरेको, अन्तरवस्तु पनि गलत र हानिकारक रहेको निष्कर्ष निकालेको हो। त्यस्तै पार्टी यस अघि बसेको स्थायी कमिटी बैठकले पनि अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

संसदीय समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानून, संसद नियमावली र स्थापित अभ्यासहरूसमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत छ। अध्यादेशका अन्तरवस्तु पनि गलत र हानिकारक छन्। अध्यादेशहरूबाट भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, विचौलिया, भ्रष्टचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निश्कर्षसहित अध्यादेशको प्रक्रिया र अन्तरबस्तु दुबैमा हाम्रो पार्टीको असहमति र विरोध छ । त्यसैले हाम्रो पार्टीले संसदमा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ पोलिटब्युरो बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।