६ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको
छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा मृत्यु हुनेहरुको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।
गृह मन्त्रालयका अनुसार अघिल्लो आव ०८०र८१ को साउनदेखि पुससम्म १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार १४९ जनाको मृत्यु भएको थियो । चालु आवको वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा एक हजार २३३ जनाको मृत्यु भएको छ ।
गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको मृत्यु भएको थियो । गत असोजमा एक हजार ८७३ सडक दुर्घटनामा २००, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ ।
अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको छ ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती ९काठमाडौँ उपत्यका० बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ ।

