अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्।
ह्वाइट हाउसमा ट्रम्प र मोदीबीच भेटवार्ता र छलफलपछि संयुक्त पत्रकार सम्मेलनमा आयोजना गरिएको थियो।
पत्रकार सम्मेलनमा ट्रम्पले मोदीको प्रशंसा गरेका थिए। उनले मोदीलाई आफूभन्दा कडा वार्ताकार र मध्यस्तकर्ता भनेका थिए।
मोदीले अमेरिकामा अवैध रूपमा बसिरहेका भारतीय आप्रवासीहरूलाई फिर्ता लिन आफू तयार रहेको बताएका थिए।
उनले अवैध रूपमा बसोबास गरिरहेका भारतीयहरूलाई मानव तस्करहरूले फकाइफुल्याइ गरी मोटो रकम लिएर त्यहाँ पुर्याएको बताएका थिए। ‘उनीहरूलाई ठूला ठूला सपना देखाएर पुर्याइएको हुन्छ। त्यसरी अमेरिका पुग्नेहरू आम नागरिक हुन्छन्,’ ट्रम्पसँग मोदीले भनेका थिए।
अमेरिकाले एक सय जना भन्दा बढी भारतीय आप्रवासीहराई यसअघि नै सेनाको जहाजमा फिर्ता गरेको थियो। फिर्ता भएकाहरुमाथि अमानवीय व्यवहार भएको भनेर त्यतिबेला भारतमा ट्रम्पविरोधी आक्रोश पैदा भएको थियो।
अमेरिकी सेनाले भारतीय आप्रवासीहरूलाई फिर्ता गर्दा उनीहरुको हातमा हतकडी र खुट्टामा नेल बाँधिदिएको समाचार सार्वजनिक भएको थियो। जहाजमा हलचल गर्न नदिइएको, खाना खाने बेला र बाथरूम जाने समयमा पनि हतकडी र नेल नखोलिदिएर अत्यन्त अमानवीय व्यवहार भएको भन्ने सार्वजनिक भएको थियो।
मोदीले ट्रम्पसँगको भेटमा आप्रवासी फिर्ताको कुरा गरेपनि उनीहरूमाथि भएको व्यवहारबारे भने बोलेनन्।
मोदीले युक्रेनमा युद्ध रोक्ने विषयमा ट्रम्पले थालेको प्रक्रियाको स्वागत गरे। ट्रम्पले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्तामा युक्रेनमा जारी युद्ध अन्त्य गर्नेबारे कुराकानी गरेका थिए।
उनले रूस र युक्रेन दुवैसँग राम्रो सम्बन्ध भएको र दुवै देशका नेताहरूसँग भेट भएको सन्दर्भ जोड्दै युद्धको युग नभएको बताए। उनले रूस युक्रेन युद्धबारे भारत तटस्थ नभएको पनि बताए।

