Breaking News

धारिलो खुकुरीले प्रहार गर्दा हजुरआमा र नातिको घटनास्थलमै मृत्यु

काठमाडौं । रुकुमपूर्वको भूमे गाउँपालिका–४ को साकिममा एकै परिवारका दुई जनाको हत्या भएको छ । हिजो मंगलबार दिउँसो २ बजेतिर ६० वर्षकी हजुरआमा ढाटी बुढा र ८ महिनाको नाति समिरको हत्या गरिएको हो । प्रहरीका अनुसार नातीलाई पिठ्यूमा बोकेर बाटोमा निस्किएका बेला छिमेकी ५३ वर्षीय चन्द्रसिङ पुनले धारिलो खुकुरीले प्रहार गर्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । हत्या आरोपी बुढाका छिमेकी चन्द्रसिङ पनि घटनास्थलदेखि करिब आधा घण्टा पर मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डिएसपी माधवराज खरेलका अनुसार हजुरआमा र नातीकोे हत्याका मुख्य आरोपित पनि घटनास्थलदेखि केहि पर भीरको तल खोलामा मृत अवस्थामा भेटिएको जानकारी दिए ।

डिएसपी खरेलका अनुसार घटनापछि भागेका भनिएका पुन खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला परेका
थिए ।

घर नजिकै बाटोमा सामान्य विवादको क्रममा चन्द्रसिंङले हजुरआमा र नातीलाई एकसाथ धारिलो हतियार प्रहार गरेर हत्या गरेका प्रत्यक्षदर्शीले बताए ।
उनीहरुको हत्यापछि भाग्ने क्रममा आरोपी पुनको पनि भिरबाट खसेर मृत्यु भएको अवस्थामा शव फेला परेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्या आरोपी समेत मृत अवस्थामा भेटिए