२७ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान निगरानी समूह र आइएसएसआरले आज काठमाडौंमा गरेको ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक कार्यक्रममा बोल्ने क्रममा मुलुकमा ठूलो आन्दोलनको आवश्यकता महसुस हुन थालेको बताएका छन् ।
प्रदेशलाई अधिकार दिन नचाहने, स्थानीय तहलाई बलियो बनाउन नचाहने तर शासनमा बसिरहने गर्दा अधिकारको लागि एउटा ठूलो आन्दोलनको महसुस भइरहेको हो कि भन्ने आफूलाई लाग्न थालेको प्रचण्डले बताँए ।
संविधान निगरानी समूह र आइएसएसआरले आइतबार काठमाडौंमा गरेको ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता’ विषयक कार्यक्रममा प्रचण्डले भने, ‘ जनतामा बढ्दै गएको निराशा र असन्तुष्टिले आन्दोलनको आवश्यकता भएको हो कि भन्ने आफूलाई लाग्न थालेको बताएका हुन् ।
‘म अहिले विद्रोह गर्ने निष्कर्षमा पुगेँ भनेको होइन । तर, जनतामा असन्तुष्टि र निराशा बढेको बढ्यै छ । युवामा देखिएको निराशा हेर्दा, दलहरूले संविधान मिचिरहेको देख्दा यो प्रश्न मानिसहरूको मनमा आउँदैछ भन्ने लाग्न थालेको छ ।
पछाडि फर्कन चाहने सोच भएकाहरू मुलुकमा हावी भइरहेको भन्दै प्रचण्डले संविधानले दिएका अधिकार कार्यान्वयन हुन नदिने अवस्था सिर्जना गरेर असन्तुष्टि बढाइएको बताए ।
उनले संविधान मिचेर तथा राष्ट्रपतिलाई निरिह बनाएर वर्तमान सरकार गठन भएको जिकिर गरे ।
‘संविधान मिचेर, राष्ट्रपतिलाई जबरजस्ती दबाब दिएर, निरिह बनाएर बनेको सरकार हो यो,’ प्रधानन्यायाधीशसमेत उपस्थित कार्यक्रममा उनैलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सम्माननीय प्रधानन्यायाधीश यहीँ हुनुहुन्छ । संविधानको धारा ७६ को २ अनुसार बनेको सरकारले विश्वासको मत लिन नसकेपछि स्वतः ७६ को ३ अनुसार सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने हो । तर, संविधान मिचेर यो सरकार बन्यो ।

