जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार मदन राईलाई साढे दुई वर्षको कैद सजाय तोकेको तहशिलदार सुदिपकुमार भट्टराईले जानकारी दिए।
यस कसुरमा एक लाख रुपैयाँ जरिवाना र एक लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन पनि आदेश भएको हो।
भट्टराईका अनुसार इजलासले राईलाई नैतिक पतन देखिने फौजदारी कसुर गरेको पनि ठहर गरेको छ।
यस कसूरमा माघ १० गते न्यायाधीश दाहालको इजलासले दोषी ठहर गरेको थियो।
मदन राईले आफ्नो फाउन्डेसनमा लामो समयसम्म बालबालिकामाथि यौन दुर्व्यवहार गरेको सेतोपाटीले पहिलो पटक वैशाख २८ गते स्टोरी प्रकाशन गरेको थियो।
फाउन्डेसनका संस्थापक समेत रहेका ७५ वर्षीय मदनले आफ्ना संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले बताएका थिए।

