१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाएर रिहा भएका छन् । बैंक ज्ञारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएका हुन् ।
बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।
सोही अनुसार उनी आइतबार नै बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर रिहा भएका हुन् ।
गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आज न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश गरेको हो ।
थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।