१ पुस, काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको आज निधन भएको छ । ८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए। गतवर्ष मात्रै उनो पेटको शल्यक्रिया गरिएको थियो।
उनी बहुदलपछि तत्कालीन काठमाडौं नगरपालिकाको पहिलो मेयर थिए। उनैले काठमाडौंलाई महानगर बनाउन भूमिका समेत खेलेका थिए।
उनको निधनमा काठमाडौं महानगरले सोमबार सार्वजनिक विदा दिएको छ। शोकमा नेपाली कांग्रेसले तीन दिनसम्म देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
नेपाली काँग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
त्यस्तै भोलि पार्टीको केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय पनि भएको छ ।
पार्टीले आजदेखि १३ दिनसम्म देशका सबै कार्यालयमा शोक पुस्तिका राख्ने र तेह्रौं दिनमा काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे चाक्सीबारीस्थित प्रकाशमान निवासमै निधन भएको हो । उनको पार्थिव शरीरलाई बिहान १ज्ञ बजेसम्म निवासमै श्रद्धाञ्जलीका लागि राखिएको थियो ।
त्यसपछि उनको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा राखिएको थियो । सानेपामा सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरू श्रद्धाञ्जली दिन पुगेका थिए ।
गणेशमान सिंहको सहयोगीका रुपमा काम गरेका पीएल उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका थिए ।
पीएल सिंहको आजै अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि काठमाडौंको कंकेश्वरी मन्दिरसँगैको लखतिर्थमा गरिने बताइएको छ ।
पीएल सिंह २०४९ सालको स्थानीय तह निर्वाचन जितेर तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।
पीएल सिंह अविवाहित हुन् । उनका भाइ र बहिनीहरू छन् ।