Breaking News

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलहरू आज सकिँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका खेलहरू आज सकिँदै छ । अन्तिम लिग खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदैछन् ।

खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान ९ बजे सुरु हुनेछ । दुवै टोली राम्रो फर्ममा रहेका छन् । आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ ।
जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन् । प्लेअफ चरणमा पुग्ने एउटा टोलीको टंगो लाग्नमात्र बाँकी छ । अब कर्णाली याक्स र काठमाडौँ गुर्खाजमध्ये एउटा टोली प्लेअफ चरणमा पुग्नेछन् ।
हालसम्म ६ खेल खेलेको सुदूरपश्चिम रोयल्स १० अंकसहित तालिकाको पहिलो स्थानमा छ । सात खेलबाट १० अंक जोडेको जनकपुर बोल्ट्स दोस्रो स्थानमा आसिन छ । सात खेलबाट आठ अंक जोडेको चितवन राइनोज तेस्रो स्थानमाछ ।

यसैगरी, लिग चरणको अन्तिम एक खेल बाँकी रहँदा ६ खेलबाट आठ अंक जोडेको कर्णाली याक्स चौथो र सात खेलबाट आठ अंक बटुलेको काठमाडौँ गुर्खाज पाँचौँ स्थानमा आसिन छन् । यी दुईमध्ये एक प्लेअफ चरणमा पुग्ने अन्तिम टोली बन्नेछ ।

सात खेलबाट चार अंक जोडेको विराटनगर किङ्स (छैटौँ स्थान), समान खेलबाट समान अंक बटुलेको पोखरा एभेन्जर्स (सातौँ स्थान) र सात खेलबाट केवल दुई अंक हात पारेको लुम्बिनी लायन्स (आठौँ स्थान) भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।

हाल आठ–आठ अंक रहेका तीन टोलीमध्ये सबैभन्दा नराम्रो नेट रन रेट काठमाडौँ गुर्खाजको रहेको छ । चितवन राइनोजको नेट रन रेट ०.६३४ रहेको छ । कर्णाली याक्सको नेट रन रेट ०.०९५ छ । काठमाडौँ गुर्खाजको नेट रन रेट भने –०.३२१ रहेको छ ।

आज सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने