काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज पुर्याइएको छ । लामिछानेलाई पोखराबाट सोमबार जहाजमा काठमाडौं हुँदै सिमरा पुर्याइएको र त्यहाँबाट गाडीमा वीरगन्ज लगिएको हो ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलाई भने पोखराबाटै सडकमार्ग हुँदै वीरगन्ज पुर्याइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । यसअघि लामिछाने र जोशीमाथि छानबिन गर्न कास्की जिल्ला अदालतले आइतबार ४ दिनको म्याद थप गरेको थियो ।
लामिछानेलाई गत कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ गरी कास्की ल्याइएको थियो । लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन, १५ दिन र आइतबार ४ दिन म्याद थप गरिएको हो ।