Breaking News

सवारी ज्यान सम्बन्धी कसुरमा झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउन अदालतले आदेश

काठमाडौं । सवारी ज्यान सम्बन्धी कसुरमा झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।

हिरासतमा रहेका बेला उनको परिवारसँग सहमति भएको थियो । यद्यपि, अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।