Breaking News

सिरियाका विद्रोहीहरू राजधानी दमास्कसतर्फ अघि बढे

दमास्कस । सिरियाका विद्रोहीहरू राजधानी दमास्कसतर्फ अघि बढिरहेका छन् । यसैबिच, विद्रोहीहरूले दक्षिणी सिरियाको डेराका अधिकांश भाग कब्जा गरेका छन् ।

डेरा त्यही क्षेत्र हो जहाँ सन् २०११ मा राष्ट्रपति बसर अल असदको विरोध सुरु भएको थियो। त्यसपछि देशमा गृहयुद्धको अवस्था सिर्जना भएको थियो । त्यस यता देशभर पाँच लाखभन्दा बढी मानिस मारिएका छन् । यो क्षेत्र रणनीतिक र प्रतीकात्मक रूपमा निकै महत्त्वपूर्ण छ । यो क्षेत्र जोर्डनको सिमानामा रहेको मुख्य क्रसिङको नजिक छ। बेलायतमा रहेको सिरियन अब्जर्भेटरीले सरकारी सेनासँगको ‘हिंसक झडप’ पछि ’स्थानीय विद्रोही समूहहरू’ ले सेनाको धेरै स्थानहरू कब्जा गर्न सफल भएको बताएको छ।
जोर्डनका आन्तरिक मन्त्रीले भने, ‘सिरियाको दक्षिणी भागमा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सिरियाको यस क्षेत्रसँगको सीमा बन्द गरिएको छ।’ हालै विद्रोहीहरूले हमामा कब्जा गरेका थिए । त्यहाँबाट हजारौँ मानिसहरू भागेका छन्।
सिरियाली सेनाले गत हप्ता अलेप्पोको नियन्त्रण गुमाएपछि राष्ट्रपति बसर अल-असदका लागि यो दोस्रो ठुलो धक्का थियो। गत साता सिरियामा विद्रोहीहरूले अचानक आक्रमण गर्न थालेपछि अल्पसङ्ख्यक समुदाय अलावाइटका मानिसहरू घर छाड्न थालेका छन् ।

बीबीसी