पछिल्लो समय किर्ते कार्य अत्याधिक बढेको छ । सरकारी कर्मचारी र बिचौलियाको मिलेमतोमा किर्ते काम भइरहेको
छ । कुनैपनि व्यक्ति आफ्नो जायजेथो सरकारी कार्यालयमा निर्धक्क बस्छ । घरजग्गा मालपोत र गाडी यातायातमा दर्ता गरेपछि आफ्नो सम्पत्ति सुरक्षित छ भनेर व्यक्ति मख्ख परिरहेको हुन्छ । तर, सरकारी कार्यालयमा दर्ता भएको जायजेथोको पनि कुनै सुरक्षा छैन् । सरकारी कर्मचारी र दलालीले किर्ते गरेर सेटिङ्गमा अर्कैलाई त्यो पास गरिदिएको गुनासोहरु सुन्न थालिएको छ । जबकी कानुनमा मालपोत, यातायात वा बैंकले व्यक्तिको सम्पत्ति अरु कसैलाई देखाउन मिल्दैन् ।
मौखित पनि भन्न मिल्दैन् । सरकारले चाहेको खण्डबाहेक कसैको सम्पत्तिको डाटा कसैलाई दिन मिल्दैन् । सम्पत्तिको संरक्षण गरेबापत सरकारले पनि कर लिन्छ, बैंक तथा वित्तिय संस्थाले पनि । पछिल्लो समय बैंकको खाताबाट पैसा हराउँछ । सम्बन्धित व्यक्तिलाई जानकारी नगराई जायजेथो अर्काको नाममा पास हुन्छ । यो कसरी भयो त ? लकरमा लगेर राखेको सुनको पनि सुरक्षा नभएको सुन्न थालिएको छ । यसले त सरोकारवालाप्रति अविश्वास बढेको छ । यता, कसैलाई विश्वास गर्न पनि गाह्रो पर्ने अवस्था सिर्जना भएको छ । सोझासाझीले जग्गा बेच्न भनेर लालपूर्जा दिन्छन् । बाठाटाठाले जग्गा नै आफ्नो नाममा लगिदिन्छन् ।
केही समयअघि जग्गा बेच्न दिएको लालपूर्जाको दुरुपयोग गरेर जग्गा आफ्नो नाममा लगेको समाचार आएको थियो । गाडी बेच्न भनेर गाडी धनीले दिएको कागजातहरुको दुरुपयोग गरी, किर्ते गरी पनि गाडी नै नाममा नामसारी गरेको पनि
पाइन्छ । जिँउदै व्यक्तिलाई मरेको भनि नक्कली कागजात खडा गरि तिनको सम्पत्ति लगेको घटनाहरु पनि सुन्नमा आइरहेको हुन्छ । पहिलेपहिलेका मान्छेहरु नपढेपनि बाठा थिए । कसैले आफ्नो औंठाछाप लिइदिन्छ कि भन्ने डरले उनीहरु बुढी औंला लुकाएर सुत्थें । आफ्नो सम्पत्ति अरुले खाइदिन सक्छ, फसाइदिन सक्छ भनेर उनीहरु पहिल्यै सचेत थिए । तर, अहिलेका मान्छेहरु पढेको भएपनि केही ज्ञान छैन् ।
कतै हस्ताक्षर गरिदिनु भन्यो भने उनीहरु हस्ताक्षर गरिदिईहाल्छन् । कसैले ल्याप्चे लगाइदिनु भन्यो भनेपनि लगाइ
दिन्छन् । घरको लालपूर्जा, नागरिकता, ब्लूबुकको फोटोकपी मागेमा सहजै फोटोकपी दिइदिन्छन् । नागरिकता दिँदा कतिपय सोझासाझी कानुनको चंगुलमा परेका छन् । तैपनि सर्वसाधारणको चेत खुल्न सकेको छैन् । अपराधिक मानसिकता बोकेकाहरुले कुनै बहाना पारेर सीधासाधीको नागरिकताको फोटोकपी माग्छन् । अनि गैरकानुनी धन्दा
गर्छन् । फस्ने बेला त्यो नागरिकताको फोटोकपी दिने फस्छ । यस्ता घटना मुलुकमा पटकपटक भइसकेको छ ।
तैपनि धेरैको आँखा खुल्न सकेको छैन् । अहिलेपनि विश्वासमा परिरहेका छन् । सर्वसाधारण अब मख्ख परेर बस्ने अवस्था छैन् । बैंकमा भएको आफ्नो पैसाको सुरक्षा त भइरहेको छ ? सोधीखोजी गरिरहनुपर्छ । भनिन्छ नि,‘आफ्नो सम्पत्तिको सुरक्षा आफैं गरौं ।’ अर्काको भरमा बस्नुहुँदैन् ।
बैंक र सरकारले त सम्पत्तिको सुरक्षा गरिहाल्छ, आफैंले पनि चासो लिऔं । किन कि मान्छेको नियत जतिबेला पनि खराब हुन सक्छ । आफू यता आनन्दले बसिरहँदा उता पैसा हरायो भने मज्जा भएन् । घाउमा बेलैमा मल्हमपट्टी गर्यो भने सहजै ठीक हुन्छ नत्र झन्झन् गहिरो हुन सक्छ । बेलैमा थाहा पाइयो भने कानुनको ढोका ढक्ढकाउन सकियो । जग्गा दलालीले एकातिरको जग्गा देखाएर अर्को बेच्छन् । चार कुना मिलेको राम्रो जग्गा देखाउँछन् । सो जग्गामा घर बनाउन खोज्दा त त्यो जग्गा नै हुँदैन् । जग्गा दलालीको यो खेती नै हो । विगतदेखि नै यस्तै काम गर्दै आएका छन् ।
व्यक्ति जग्गा किनेर घर बनाएर विदेशमा गएर बस्छन् । पाँच ६ वर्षपछि उनीहरु फर्किन्छन् । फर्किँदा त त्यो सम्पत्ति आफ्नो नाममै हुँदैन् । यस्ता घटना पनि भएका छन् । जग्गा बेच्न जाँदा सक्कली नागरिकता, फोटो चाहिन्छ । हकदार पनि लैजानुपर्छ । तीन पुस्ता खोजिन्छ । हकदारलाई नसोधिकन हाकिमले हस्ताक्षर गर्दैनन् । खरिदकर्ताको पनि सक्कली नागरिकता र फोटो हेरिन्छ । तर, यस्तो धन्दा मौलाउनुमा सरकारी कर्मचारी र बिचौलियाको हात छ । कानुनलाई लत्याएर उनीहरुले कसैको सम्पत्ति हिनामिना गरिरहेका छन् । सरकारी कर्मचारीलाई जसरी हुन्छ पैसा कमाउनुपरेको छ ।घुस भए उनीहरु मख्ख ।
ऐनकानुन त कागजमा लेख्नका लागि मात्र हो । बेलाबखत समाचार आउँछ, चिनियाँ नागरिकहरुले तीनदेखि पाँच लाख रुपैयाँ दिएर नेपाली नागरिकता लिएको । नागरिकतामा त सिडियोले हस्ताक्षर गर्नुपर्छ । पैसाका लागि यहाँ केसम्म हुन्छ ? प्रष्टै छ । घुस पायो भने सरकारी कर्मचारीले देश बेच्न पनि बेर लगाउँदैनन् । नागरिकता बेच्नु भनेको पनि एक किसिमले देश बेच्नु नै हो । बैंकका कर्मचारी वा सञ्चालक खातावालकै पैसा चोर्छन् । विभिन्न बैंकबाट पैसा हराइसकेको छ । लाखदेखि करोडसम्म चोर्छन् । एकाध हजार हराएको त कसलाई थाहा हुन्थ्यो ? बैंकका कर्मचारीहरु ‘चोर’ भइसके ।
यता, सरकारी कर्मचारी घुस पायो भने एउटाको सम्पत्ति जानकारी नै नगराई अर्कोको नाममा पास गरिदिने । अनि कसको चाँहि विश्वास गर्ने ? जनताको सम्पत्तिको कहाँचाँहि सुरक्षा छ ? सरकारले यसको जवाफ दिनुपर्छ । अब जनताले अरुमाथि आँखा चिम्लेर विश्वास गर्नुहुँदैन् ।
किन कि यहाँ पैसाका लागि जे पनि गर्छन् । यहाँ त केसम्म हुन्छ भने पैसाका लागि नक्कली मृत्युदर्ता प्रमाणपत्रसमेत बेचिन्छ । सरकारी कर्मचारी त जनताको प्रतिनिधि हुन् । उनीहरुलाई ‘राष्ट्रसेवक’ भनिन्छ । राष्ट्रसेवकलाई यस्तो काम गर्न सहुँला ? यसले सरकारी कर्मचारीको छविमा कस्तो दाग लाग्छ ? यता, स्थानीय पालिकाका जनप्रतिनिधि पनि महा घुसखोरी भए । कागज मिलाउने, घुस खाने । योबाहेक तिनले केही जानेनन् । जनता अब राज्यको भर नपर्दापनि हुन्छ । किन कि भोलि केही कारणबस् सम्पत्ति तलमाथि भयो भने सरकारले जिम्मा लिँदैन् । सरकारले सहकारी, लघुवित्त खोल्न स्वीकृति दियो ।
बचतकर्ताले त्यहाँ लगेर पैसा राखे । अहिले अधिकांश सहकारी भागिसकेका छन् । तर, राज्यले बचतकर्ताको बचतको त जिम्मा लिएन् ? यो अवस्था अन्य हकमा नआउला भन्न सकिन्न ? राज्यले कतिबेला हात उठाइदिन्छ ? भन्न सकिन्न । जनताको सम्पत्ति आखिर कहाँचाँहि सुरक्षा छ ? सहकारी त सहकारी विभागअन्तर्गत दर्ता भएको थियो । विभाग त सरकार नै हो । तैपनि जनताको सम्पत्तिको सुरक्षा गर्न सकेन् । यहाँ पनि आफ्नोलाई बचाउने, अरुलाई फसाउने प्रवृत्ति नै छ । अपराध गरेकै भएपनि राजनीतिक दलको कार्यकर्तालाई जोगाइन्छ । जसका कारण कानुनबाट सर्वसाधारणको विश्वास गुम्दै गएको छ ।
सरकारबाट केही हुँदैन्, त्यसैले जनता आफैं सचेत बनौं । आफ्नो सम्पत्तिको गोप्यता राखौं । देखावटीका लागि आफ्नो सम्पत्तिको रोब नझारौं । किन कि आफ्नैबाट पनि धेरै ठगिएका, लुटिएका छन् । नेपालीहरुको दुर्घटना नभईकन आँखा नखुल्ने बानी छ । यो बानी सुधारौं ।