Breaking News

स्थानीय उपनिर्वाचनमा मतदाताका लागि सहजीकरणको लागि आयोगको अपिल

निर्वाचन आयोगको हिजो ११ गते बसेको बैठकबाट मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष वा वडा अध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहका सम्बन्धित वडाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार, प्रदेश सरकारको स्वामित्व, अनुदान र नियन्त्रणमा सञ्‍चालित निकायहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीहरूलाई मतदानका दिन विशेष विदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई लेखी पठाउने निर्णय गरेको छ ।

यसैगरी आयोगको मंसिर ९ गतेको बैठकबाट मतदान हुने दिन स्थानीय तहको प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तह अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक विदा दिने व्यवस्था मिलाउन एवम् उपनिर्वाचन हुने स्थानीय तहका मतदाताहरूलाई विदाको सुविधा वा अन्य उपयुक्त वैकल्पिक उपाय अपनाई मतदान गर्ने सहज व्यवस्था मिलाई दिन सम्बन्धित स्थानीय तह वा जिल्ला स्थित निजी क्षेत्रबाट सञ्चालित औद्योगिक वा शैक्षिक वा अन्य प्रतिष्ठानहरूलाई आह्वान गरिसकिएको छ ।

उल्लिखित व्यवस्थाबाट यस उपनिर्वाचनमा सबै मतदाताहरूलाई मतदान गर्ने अवसर प्राप्त हुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण मतदाताहरूलाई उपनिर्वाचनमा उत्साहजनक रूपमा सहभागी हुन आयोगले अपिल समेत गरेको छ ।