३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा अगाडि युक्रेनलाई लामो दुरीको मिसाइल उपयोग गरी रुसमा आक्रमण गर्न अनुमति दिएका छन् ।
रुसले आइतबार युक्रेनको राजधानी किभमा हालसम्मकै भयानक हवाई हमला गरेपछि बाइडेनले युक्रेनलाई पनि लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएका हुन् । यी मिसाइलको आपूर्ति अमेरिकाले नै गरेको थियो ।
रुस र युक्रेनबीचको युद्ध ३३ महिनादेखि जारी छ । यसबीचमा हजारौंको ज्यान गएको छ भने लाखौं घरबारविहीन भएका छन् । यी दुई देशबीचको टकरावका बीच अमेरिकाले ठूलो निर्णय लिएको हो ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुस–युक्रेन युद्ध समाप्त गर्नका लागि हरसम्भव कोसिस गर्ने बताएका थिए ।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले दुई दिनअघि मात्रै एक रेडियो अन्तर्वार्तामा रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहेको र ट्रम्पले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
समाचार एजेन्सी एपीका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणका लागि उत्तर कोरियाको समेत समर्थन पाएका छन् । उत्तर कोरियाले रुसमा आफ्ना हजारौं सैनिक पठाएको छ । यससँगै युक्रेनमा रुसले अझै घातक आक्रमण गर्नसक्ने अनुमान छ ।