Breaking News

इजरायली सेनाले लेबनानबाट मध्य इजरायलतर्फ तीन प्रक्षेपण

एजेन्सी। इजरायली सेनाले लेबनानबाट मध्य इजरायलतर्फ तीन प्रक्षेपण गरिएको बताएको छ । इजरायलको शारोन क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा १९ जना घाइते भएको प्रहरीले शनिबार बिहान जानकारी दिएको छ ।

इजरायली प्रहरीले १९मध्ये चार जनाको ‘मध्यम अवस्था’ रहेको र सबैलाई उपचारका लागि अस्पताल लगिएको थप जानकारी दिएको छ ।

इजरायलको मागेन डेभिड अडोम (एमडिए) आपत्कालीन चिकित्सा सेवाले यसअघि केन्द्रीय शहर तिरामा भएको आक्रमणमा ‘छर्राले घाइते भएका २० वर्षीय एक पुरुष’ सहित केही व्यत्ति घाइते भएको जनाएको थियो ।

इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गरेका भिडियोहरूमा एउटा भवनबाट सडकमा आगो र धुवाँ फैलिएको र आपत्कालीन टोलीहरू घटनास्थलमा जम्मा भएको देखाइएको छ ।

‘यो इजरायलको अरब शहर तिरामा हिजबुल्लाहको रकेट प्रत्यक्ष आक्रमणको परिणाम हो, आक्रमणमा १९ नागरिक घाइते भएका छन्’, मन्त्रालयले पोस्टमा भनेको छ, ‘हिजबुल्लाह समाप्त नभएसम्म हामी विश्राम गर्न सक्दैनौँ र गर्ने छैनौँ ।’

इजरायली सेनाले टेलिग्राममा लेबनानबाट दागिएका तीन प्रक्षेपणमध्ये केही रोकेको जनाएको छ । मुख्यतया तल अभिवबाट २५ किलोमिटर उत्तरपूर्वमा रहेको अरब बाहुल्य शहर तिरा कब्जा गरिएको पश्चिम किनारको सीमा नजिक अवस्थित छ ।

गाजा पट्टीमा भइरहेको युद्ध लेबनानसम्म फैलिएको छ । यहाँ इजरायलले प्यालेस्टिनी समूह हमासको सहयोगी हिजबुल्लाहविरुद्ध हवाई आक्रमण गरिरहेको छ ।

इजरायली तथ्याङ्कअनुसार सन् २०२३ अक्टोबर ७मा हमासले इजरायलमा गरेको घातक आक्रमणपछि हिजबुल्लाहसँगको सीमापार गोलीबारी आदानप्रदान सुरु भएयता इजरायली पक्षमा कम्तीमा ६३ जनाको मृत्यु भएको छ ।

बिहीबार लेबनानबाट गरिएको रकेट आक्रमणमा उत्तरी इजरायलको मेतुलामा चार थाई किसानसहित सात जनाको मृत्यु भएको थियो ।

एएफपीले सङ्कलन गरेको इजरायली आधिकारिक तथ्याङ्कअनुसार हमासको अक्टोबरको आक्रमणमा धेरैजसो नागरिक गरी एक हजार दुई सय छ जनाको मृत्यु भएको थियो ।

इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार दुई सय ५९ प्यालेस्टिनीको मृत्यु भएको छ । तीमध्ये धेरैजसो नागरिक छन् । यो तथ्याङ्क हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयको हो र यसलाई संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मानेको छ ।