Breaking News

पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय

४ कात्तिक, काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय  विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

‘उहाँहरुले के कति कारणले त्यस्तो बोल्नु भएको हो ? स्पष्टीकराण सोध्ने निर्णय भएको छ’, महासचिव पोखरेलले भने । गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो ।

उक्त निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।