Breaking News

पूर्वमाओवादीहरू एकैठाउँमा उभिन सके जनतामा फेरि एकपटक २०६४ को जस्तो उत्साह सञ्चार हुने

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पूर्वमाओवादीहरू सबै एकैठाउँमा आए २०६४ सालको जस्तो माहोल फेरि एकपटक बन्ने दाबी गरेका छन्।

शनिबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले पूर्वमाओवादीहरू एक अर्काप्रति आरोप प्रत्यरोपमा उत्रिनुभन्दा एकैठाउँमा उभिन सके जनतामा फेरि एकपटक २०६४ को जस्तो उत्साह सञ्चार हुने बताएका हुन्।

‘आजको दिनमा हामीले बुझने कुरा के हो भने माओवादी एकले अर्कोलाई आक्षेप लगाउने र हेप्ने कुरा होइन। यो एकतावद्ध हुन्छ। यो एकतावद्ध भयो भने २०६४ साल जन्मिन्छ,’ उनले भने।

उनले रातारात उम्रेका पार्टीहरूले खडा गरेका मान्छेहरूले देशलाई भूलभुलैयामा पार्न खोजेको तर त्यो सम्भव नहुने पनि बताए। देश र जनताको पक्षमा आफूहरूले बाहेक अरूले काम गर्न नसक्ने पनि महासचिव विप्लवको भनाइ छ।

‘यो देशमा एकचोटी हामीले जनताको सेवा गर्न पाउनुपर्दछ। हामीले भनेका छौं। नेपाली जनताको सेवा गरेर हामी देखाउन चाहन्छौं। यहाँ अरु कसैले पनि गर्न सक्दैन। हाम्रो दावी छ। त्यसकारण एकचोटी एकतावद्ध हुने हो। एकतावद्ध भएर अगाडि जाने हो। हामीलाई कुनै मोजमस्ती चाहिएको छैन। हामीलाई कुनै स्वार्थ चाहिएको छैन। हामीलाई कुर्सी मात्रै चाहिएको छैन। त्यो कुर्सी हामीलाई व्यक्तिगत जीवनको लागि चाहिएको छैन ।

महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’