Breaking News

सभापति रवि लामिछाने पक्राउ विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं र पोखरामा विरोध प्रदर्शन गर्ने

सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी ले काठमाडौं र पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ।

बिहान ११ बजे पोखराको चिप्लेढुंगामा र दिउँसो १ बजे काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन आयोजना गरिएको रास्वपाले जानकारी दिएको छ।

सहकारीको बचत अपचलनको अभियोगमा रास्वपा सभापति लामिछाने हिजो पक्राउ परेका थिए। उनलाई शुक्रबार राति नै पोखरा लगिएको थियो। सडकमार्ग हुँदै पोखरा पु¥याइएको सभापति लामिछानेलाई बिहान ३ बजे हिरासतमा लिइएको थियो।

रास्वपाले यस प्रकरणलाई राजनीतिक प्रतिशोधका रूपमा लिएको छ। यसविरूद्ध विरोधमा उत्रिन पार्टीले संस्थागतरूपमै आह्वान गरेको हो।

हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गरिएको पक्राउ प्रति हामी घोर भर्त्सना गर्दछौं,’ रास्वपाले विज्ञप्तिमार्फत् भनेको छ, ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको भनी पुष्टी गरेको अवस्थामा सोही मुद्दामा सभापतिलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको हाम्रो ठम्याइ छ।’

यद्यपि रास्वपाले विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको बताएको छ।

‘कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापतिमाथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन। बिनाकारण, बिनाआधार सभापतिलाई पक्राउ गरेर आम जनाताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको सहजै बुझ्न सकिन्छ ।

रास्वपाले गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडवडी जस्तो अर्बौंको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेको पनि आरोप लगाएको छ।

‘हामी डराएका छैनौं, तर्सिएका हैनौं। अब परिवर्तनको लडाइँ थप बुलन्द भएको छ। हामी यो देशमा परिवर्तन चाहने सम्पूर्ण आम नेपाली जनतालाई आह्वान र अनुरोध गर्न चाहन्छौँ, यो देशमा दशकौंदेखि हुँदै आएको राजनीतिक जालझेलको विरुद्ध उभिन सचेत रहनुहोस्,’ कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।