झपाका १७ र सुनसरीका १ जना गरी १८ जनाले कोरोना जितेर घर फर्किए

२० जेठ, विराटनगर । कोरोनाका संक्रमित बढ्ने क्रमसँगै निको भएर घर फर्कने क्रम पनि जारी छ । प्रदेश १ बाट आज थप १८ जनाले कोरोना जितेर घर फर्किएकाछन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना मुक्त भएका हुन् ।

उनीहरुलाई हिजो सोमबार राति डिस्चार्ज गरिएको थियो । दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई हिजो राति नै डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । डा. सापकोटाका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

कोरोना जितेर डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साहलगायतले पुष्पगुच्छा दिएर बिदाई गरेका थिए ।

योसँगै प्रदेश १ मा कोरोनाबाट मुक्त हुनेहरुको संख्या ४८ पुगेको छ । यसअघि कोशी अस्पताल विराटनगरको कोभिड १९ उपचार केन्द्रबाट पटक–पटक गरी ३० जना डिस्चार्ज भएका थिए ।

प्रदेश १ मा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ८० जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र ३९ जना विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत रहेकाछन् ।