धादिङका यम विश्वकर्मा काठमाडौं–नारायणघाट रूटको माइक्रो चलाउँछन्।
डेढ महिनाअघि वैदेशिक रोजगारबाट फर्किएका उनले केही दिनदेखि मात्रै काठमाडौं–नारायणघाट रूटमा गाडी चलाउन थालेका हुन्।
शुक्रबार नारायणघाट बसपार्कबाट यात्रु हालेर उनी दिउँसोपख काठमाडौंतर्फ लागेका थिए।
माइक्रोमा १५ जना यात्रु थिए। ढिलै भए कम्तीमा ८ बजेसम्म काठमाडौं पुगिन्छ भन्ने लक्ष्य तय गरेका थिए।
नारायणघाटमा हिँड्दा पानी परिनै रहेको थियो। बाटामा अवरोध भएको उनले सुनेका थिएनन्।
पानी परिरहेकाले गाडी तीव्र गतिमा चलाउनु प्रत्युत्पादक हुनसक्नेप्रति सचेत थिए उनी। ढिला हुन्छ भनेर मलेखुमा चियानास्ता गर्दा पनि यात्रुहरूलाई धेरैबेर रोकिन दिएनन्। मलेखु पार गरेपछि पानी अझै खनिन थाल्यो।
गाडीले विस्तारैविस्तारै गति लिँदै थियो। सिम्ले आइपुग्दा अँध्यारो खनिइहाल्यो।
पानी पर्ने क्रमले पनि तीव्रता लियो।
अगाडि पहिरो रहेछ। रोकिनु पर्यो।
‘त्यहाँ करिब २ घन्टा जाममा पर्यौं। रात छिप्पिइसकेको थियो। यात्रुहरू पनि ढिला पुगिने भयौं भनेर पिरोलिन थालेका थिए,’ विश्वकर्माले सेतोपाटीसँग भने।
पहिरो पन्छाएपछि अगाडिका गाडीहरू अगाडि बढ्न थाले। उनले पनि गाडी स्टार्ट गरे।
थोरै अगाडि बढ्न खोजेका थिए, एउटा विंगरले उछिन्न खोज्यो। उनले त्यसलाई अगाडि जान संकेत गरे।
विंगरको पछाडिपट्टि लेखिएको थियो–बुटवल–भैरहवा–काठमाडौं।
‘अलि पर पुगेपछि त्यही गाडीलाई ओभरटेक गरेँ,’ उनले भने।
राजमार्गको यात्रा, गाडी अगाडि–पछाडि भइरहन्छन्। उछिन्ने र बाटो दिनु सामान्य कुरा हो।
त्यो क्षण सम्झँदै उनी भन्छन्, ‘राजमार्गमा कहिले उसले, कहिले मैले ओभरटेक गर्दै अगाडि पछाडि भएरै आइरहेका थियौं, तर हामी सामान्य गतिमै थियौं,’ विश्वकर्माले भने।
झ्याप्ले खोलामा आइपुग्दा रातिको ११ बजेको हुँदो हो। त्यतिबेला पनि बुटवलबाट आएको गाडी केही पछाडि थियो।
नागढुंगा सुरूङमार्ग नजिकैको सडकबाट उनले त्यही गाडीलाई ओभरटेक गरेर अगाडि आएका थिए।
झ्याप्ले खोलाबाट फेरि जाम सुरू भयो। गाडीको ताँती अगाडिसम्मै देखिएपछि उनले ओर्लिएर केही परसम्म आँखा तन्काए।
पिपलामोडतर्फको सडकमा पहिरो खसेको रहेछ। फेरि रोकिनुपर्ने भएपछि उनी गाडीमा फर्किए। यात्रुहरूलाई पहिरोबारे जानकारी गराए। अबेरसम्म पनि जाम खुल्ने छाँटकाँट देखिएन। यात्रुहरू पनि निदाउन थाले। अगाडि पछाडि गाडीका लावालस्कर थिए।
मध्यरात भइसकेकाले मानिसहरू बोलेको आवाज सुनिएन। घनघोर पानी परेकाले त्यही आवाज मात्रै कानमा ठोक्किइरहन्थ्यो।
सबै गाडीका यात्रुहरू निदाएछन् भन्ने उनले अनुमान गरे।
उनको गाडीमा सहचालक थिएनन्। यात्रुहरू सुतिसकेकाले मुखबोल्ने साथी कोही थिएनन्। गाडीलाई सुरक्षित राख्नुपर्यो भन्ने ठानेर उनले थोरै अगाडि बढाए। अर्को सवारी छिर्ने ठाउँ राखिदिए। र, बाटो खुल्ने प्रतीक्षामा चनाखो रहे।
‘साढे २ बजेसम्म निदाएको थिइनँ। दिनभरिको थकाइ, पहिरो छल्दै गाडी चलाउँदा लखतरान भएको थिएँ,’ उनले भन्दै गए, ‘कतिबेला पो झुपुक्क निदाउन पुगेछु।’
गाडीको पछाडिको भागमा केही भारी चिज ठोक्किएजस्तो भएपछि उनी झल्याँस्स बिउँझिए।
गाडीमा के ठोक्कियो उनले खासै भेउ पाउन सकेनन्। आफ्नै गाडी पछाडि भएको विंगरतिर आँखा पुर्याए। त्यो गाडी त्यहाँ थिएन।
उनी आत्तिए। कतै पहिरो त गएन भनेर उनको मनमा झन् ठूलो भयको तुफान चल्यो।
उनले गाडीको ढोका खोल्न खोजे। ढोका खुल्दै खुलेन।
‘कहाँबाट बजारिन आइपुगेको हायस गाडी मेरै गाडीको आडमा ढोका नै खोल्न नमिल्नेगरी टाँसिएको रहेछ,’ उनी आँखो देखा हाल सुनाउँदै भन्छन्, ‘केही यात्रुहरू आत्तिएर झरे। त्यसपछि देब्रेपट्टिको ढोकाबाट म पनि झरेँ।’
त्यतिबेलासम्म पहिरो गइसकेको रहेछ भनेर उनले चाल पाइहाले। दायाँबायाँ हेर्न सकिने अवस्था छैन। चारैतिर अन्धमुष्टि छ। उज्यालोको संकेत टाढाटाढासम्म पनि छैन।
‘आफ्नै गाडीको पछाडिको भागसम्म पनि पहिरो आइसकेको थियो। थोरै भागमा मात्रै पहिरो परेकाले मेरो गाडीलाई लैजान सकेनछ!,’ उनले भने।
गाडीबाट झरेपछि बाँकी रहेका यात्रुहरूलाई बाहिर निकाले। सबै यात्रु सकुशल थिए। पछाडि बसेकाहरू सामान्य घाइते भएका थिए।
एकएक गर्दै उनले यात्रुलाई निकाले। यात्रु निकाल्दा पहिरोले छोप्ने हो कि भने भनेर त्राहिमाम् पनि हुन्थे।
उनी आत्तिएको देखेर केही यात्रु आफै हाँप र दाँप गर्दै गाडीबाट बाहिर उत्रिए। लाखापाखा लाग्न थाले।
‘बाहिर निस्केर हेर्दा हातगोडा थरर्र काँपे। दर्के झरी परिरहेको थियो। तर जिउबाट पसिना निस्कन थाल्यो। मुटुको धड्कन तेज बन्न थाल्यो सिम्लेदेखि अघिपछि गर्दै आएको विंगर त्यतिबेला पछाडि थिएन। विंगर भएको ठाउँमा लेदोको विशाल पहाड थुप्रिएको थियो,’ उनले झ्याप्ले खोलाको त्रासदी सुनाउँदै भने।
‘पहाडै खसेर गाडीलाई छ्वाप्पै छोपेछ। यात्रुहरूले पहिरो आएको पनि भेउ पाउन भ्याएनन् होला,’ उनले अगाडि भने।
उनले गाडी कहाँ गयो भनेर खोज्न त के हेर्नसम्म पनि भ्याएनन्। लेदोसहितको पहिरो चलिरहेकाले आफ्नै ज्यान जोगाउन हम्मे थियो। अघिपछिका गाडीको अवस्था के भयो भनेर उनले कहाँ हेर्न सक्नू! भ्याउनू!
‘गाडीबाट उत्रिएपपिछ त्यहीँ बस्ने कि भाग्ने भन्नेबारे अलमलमा परेँ। गाडीसँगै पुरिएकाहरूलाई खोतलेर निकाल्ने अवस्था थिएन। अगाडि पछाडि भएका गाडीबाट पनि यात्रुहरू झर्न थाले। पानी अझै ठूलो पर्दै थियो। त्यसको परवाह नगरी यात्रुहरू सडकमा निस्किएका थिए,’ उनले अवस्था सुनाउँदै भने।
विश्वकर्माले घटनास्थलबाटै प्रहरीलाई खबर गरे। पहिल्यै अरूले पनि प्रहरीलाई खबर गरेका रहेछन्। प्रहरीले जानकारी प्राप्त भइसकेको र टोली पुग्दै गरेको भन्दै सहज उत्तर दियो।
‘प्रहरी आउँदैछ भनेपछि हामीलाई त्यहाँ बसिरहनु सुरक्षित लाागेन। त्यसपछि म आफ्नो यात्रुहरूलाई लिएर त्यहाँबाट हिँडेँ,’ उनले भने।
‘नागढुंगा–नौबिसे सडकखण्डमा ठाउँ ठाउँमा पहिरो खसेको थियो। हिँड्दै गर्दा पनि कुनापट्टिबाट हल्का पहिरो खसेको जस्तै सररर्र आवाज आउँथ्यो। जमिन हल्लिएको हो कि, आफ्नै खुट्टा काँपेको हो भेउ पाउँदिनथेँ। तर रोकिने अवस्था थिएन। झरीको पर्वाह नगरी यात्रुसहित हामी अघि बढ्यौं,’ उनले सुनाउँदै गए।
हिँड्दै माथिसम्म आइपुग्दा पनि आफू सपनामै छु जस्तो लागेको विश्वकर्मा बताउँछन्।
‘कहिलेकाहीँ त सपनामै छु कि जस्तो पनि लाग्थ्यो। एकपटक पत्यार नलागेर आफैलाई चिमोटेँ पनि। सपना भएको भए त हुन्थ्यो नि, म त विपनामै पो रहेछु!,’ उनले भने।
अलि माथि आएपछि एउटा चिया पसल खुला रहेछ। त्यहाँ चिया र पानी पिएपछि बल्ल आँत आयो। बाँचियो भनेर लामो स्वास फेरेँ। अरू यात्रुहरूले पनि त्यसै गरे। कति यात्रु त अझै अताल्लिन छाडेका थिएन्। तिनीहरूको अनुहारमा एक तमासको डर र भय पोतिएको देखिन्थ्यो।
केही यात्रु गाडी पर्खिने कि भनेर पनि सोच्दै थिए। पहिरोले थुनिएका बेला कहाँबाट गाडी आउने! त्यसैले उनीहरूले हिँडेरै जाने निष्कर्ष निकाले।
तर मुख्य सडक ठाउँठाउँमा पहिरो गएका कारण खतरापूर्ण रहेको चिया पसलमा रहेकाहरूले बताएका थिए।
‘पिपलामोडबाट भित्री सडक हुँदै नागढुंगा निस्कने निधो भयो। खेतै खेत, बारीका कान्ला कान्ला हुँदै रिसोर्ट भएका ठाउँमा पुग्यौं। करिब एक घन्टापछि काठमाडौं उपत्यकातर्फको सडकमा आयौं,’ उनले भने।
त्यहाँ आइपुग्दा बिहान भइसकेको उनले बताए।
‘त्यसपछि रिद्धिसिद्धी यातायातको गाडी भेट्यौं। त्यसमै चढेर हामी आ–आफ्नो गन्तव्यमा लाग्यौं,’ उनले भने।
नयाँ नैकाप चोकमा झरेर उनी चुपचाप आफ्नो डेरा गए। अत्यासले अझै एक शब्द पनि मुखबाट निस्किएको थिएन। डेरामा गएर श्रीमती र छोराछोरीलाई देखेपछि होस खुलेझैं उनले सुनाए।
केहीबेरमै झ्याप्ले खोलाबाट एउटा विंगर गाडीबाट १४ जनाको शव निकालिएको खबर सामाजिक सञ्जालमार्फत् उनले थाहा पाएँ।
‘समाचार पढेर अझै आत्तिएँ, धन्न बचेछु भन्ने लाग्यो,’ उनले भने।
झ्याप्ले खोलामा त्यसदिन ४ वटा गाडी पुरिएका रहेछन्। त्यहाँबाट ३५ जनाको शव निकालिएको थियो। पहिरोपछि पूर्ण अवरूद्ध सडक अहिले क्रमश: सहज बन्दै गएको छ। तर अब फेरि त्यो बाटो हिँड्न नपरे हुन्थ्योझैँ लाग्ने विश्वकर्मा बताउँछन्।
‘तर आफ्नो पेसा नै यही हो। गर्नै पर्छ। डर मानेर पनि हुँदैन। केही दिनमा ठीक भइहाल्छ,’ उनले भने।
उनले भनेझैं झ्याप्ले खोलाको पहिरोभरि उत्तिस पलाउने छन्। हरियाली पनि छाउला। यो त भयो पहिराका कुरा। तर प्रियजन गुमाएका ३५ जनाको परिवारमा कत्रो पहिरो चलेको होला! ती घाउहरूमा कहिले खाटा बस्लान्!
यो सम्झिँदा उनको मनमा अहिले पनि भैंचालो गइरहन्छ!